Trending :
 

प्रधानमन्त्री र मधेश सरकारका प्रतिनिधिबीच कानुनहरू निर्माणका विषयमा छलफल

मंसिर २४,२०८०

-आस्था न्युज

मंसिर २४, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश सरकारका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । 
 
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधानको व्यवस्था बमोजिमका संघीय कानुनहरू निर्माणको विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । 
 
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा आएको टोलीले संविधानमा व्यवस्था भए बमोजिमका संघीय कानुनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
 
त्यस्तै, उनीहरुले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न संघीय सरकारलाई अल्टिमेटम पुरा भएको भन्दै आफूहरू संघर्षमा जाने चेतावनी समेत दिएका छन् । 
 
जवाफमा प्रधानमन्त्री दाहालले आफू र आफ्नो पार्टी माओवादी केन्द्र नै संघीयताको जन्मदाता भएको स्पष्ट पार्दै संघीय कानुनहरू निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताए । 
 
‘संघीयताका निम्ति सबैभन्दा बढी लडेको पार्टी हाम्रै पार्टी हो । संघीयताका पक्षमा लगातार संघर्ष गर्ने नेता म नै हुँ । संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति मैले गरेको संघर्ष र पहल तपाईहरूले देख्नुभएकै छ ।’, भेटमा प्रधानमन्त्री दाहालले भने, ‘अहिले पनि संघीय कानुनहरू समयमै निर्माण गर्न मैले निरन्तर पहल गरिरहेको छु  तपाईहरू सबैले यसमा साथ दिँदै आउनुभएको छ। तपाईहरूले आ-आफ्नो पार्टीमा पनि पहल बढाउनुस् र संघीयता कार्यान्वयन प्रभावकारी बनाउँ’
छलफलमा प्रधानमन्त्री दाहालको आग्रहलाई आफूहरूले सकारात्मक रूपमा लिएको मुख्यमन्त्री यादवले बताए ।