Trending : #श्रीनेहा     
 

एसिसी यु-१९ एसिया कपः नेपालसामु २६२ रनको लक्ष्य

मंसिर २४,२०८०

-आस्था न्युज

मंसिर २४, २०८० काठमाडौं ।
एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई  जितका लागि दुई  सय ६२ रनको लक्ष्य दिएको छ । 
 
युनाइटेड अरब इमिरेटस् ९युएई० को दुबईमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । अफगानिस्तानले ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६१ रन बनायो । 
 
अफगानिस्तानका लागि जाम्शिद जद्रानले शतकीय पारी खेले । उनने एक सय ५२ बल खेल्दै आठ चौकाको मद्दतमा एक सय ६ रनको योगदान दिए । यस्तै नौमान साह अघाले ६० रन बनाए । उनले ४१ बल खेल्ने क्रममा पाँच चौका र तीन छक्का प्रहार गरे । 
 
यसैगरी राहिमुल्लाह जुरमातीले ३५, वाफिउल्लाह ताराखिलले  १५ तथा खालिद तानिवालले १० रन बनाए । 
 
बलिङतर्फ नेपालका लागि हेमन्त धामी, गुलशन झा र सुभाष भण्डारीले दुई दुई तथा दीपेश कँडेल र आकाश चन्दले एक एक विकेट लिए । 
 
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्म नेपालले सात ओभरमा दुई विकेट गुमाएर ३४रन बनाएको छ ।