Trending :
 

सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशमाथिको सुनुवाइ मङ्सिर २९ गते

मंसिर २४,२०८०

-आस्था न्युज

मंसिर २४, २०८० काठमाडौं ।
सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशमाथि आउँदो मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने भएको छ । आइतबार बसेको संसदीय सुनुवाइ समितिमा १० जना उजुरीकर्तासँगको छलफलपछि समितिले २९ गतेका सुनुवाईको मिति तोकेको हो । 
 
सुनुवाइ समितिमा ज्येष्ठ सदस्यको रूपमा सभापतिको भूमिकामा रहेका ज्ञानेन्द्रबहादुर कार्कीले सुनुवाइ समितिको बैठक मङ्सिर १९ गते बस्ने जानकारी दिएका हुन् । 
 
उजुरीकर्तालाई समितिमा बोलाएर छलफल गरेको समितिले आज उनीहरुले प्रस्तावित सर्वोच्चका न्यायाधीश विरुद्ध उजुरी गर्नुको कारण र आधार मागेको छ । 
 
समिति सदस्यहरुले उजुरीकर्ताले उठाएका विषयमा जवाफ मागेका थिए । 
 
बैठकमा नेकपा एमालेका सचेतक महेश बड्र्तौलाले, समितिमा उजुरी पर्नु राम्रो भएको भन्दै उजुरी नियोजित र पदीय दुरुपयोगको मनसायबाट थियो की थिएन महत्वपूर्ण कुरा भएको  बताए । उनीले कानूनमै फैसलाको पुनरावलोकन व्यवस्था भएकोले पदीय दुरुपयोगको आधार प्रष्ट गर्न उजुरीकर्ताहरुलाई आग्रह गरे । 
 
सर्वोच्चमा प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीविरुद्ध सबैभन्दा धेरै ५ वटा उजुरी परेको छ । यस्तै टेकप्रसाद ढुङ्गानाविरुद्ध ३ वटा र अर्का प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमान विरुद्ध १ वटा उजुरी परेको छ ।
 
अन्य प्रस्तावित न्यायाधीशहरू सुनील पोखरेल, महेश शर्मा पौड्याल र बालकृष्ण ढकालविरुद्ध भने उजुरी परेको छैन ।