Trending :
 

लैङ्गिक हिंसाविरुद्ध सचेतना फैलाउन चित्रकला प्रदर्शनी

मंसिर २५,२०८०

-आस्था न्युज

मंसिर २५, २०८० काठमाडौं । 
काठमाडौँको बूढानीलकण्ठमा लैङ्गिक हिंसाविरुद्ध सचेतना फैलाउन चित्रकला प्रदर्शनी गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिएको उक्त प्रदर्शनीमा ४९ कलाकारका सिर्जना समावेश छ । 
 
नेपाल प्रहरीको तथ्याङ्कअनुसार कुल लैङ्गिक हिंसामध्ये ८९ प्रतिशत चिनाजानका मानिसबाट भएको छ भने  समग्रमा ८० प्रतिशत घटना घरेलु हिंसाका रहेको उल्लेख छ । त्यसैले घर छिमेकमा हुने यस्ता घटना रोक्न लैङ्गिक हिंसाविरुद्ध सकारात्मक सचेतना दिने र सकारात्मक भाव झल्किने खालका चित्र समावेश गरेर प्रदर्शन गरिएको नगरपालिकाले जनाएको छ । 
 
नगरपालिकाका प्रशासकीय अधिकृत केदारकुमार खड्काका अनुसार हरेक क्षेत्रले कुनै न कुनै माध्यामबाट हिंसाविरुद्ध सचेतना फैलाउनुपर्नेमा जोड दिँदै नगरपालिकाले पनि सोही अनुसार कला प्रदर्शनी आयोजना गरेको बताउनुभयो ।
 
हरेक क्षेत्रबाट यसैगरी हिंसाविरुद्ध सचेतना फैलाउने हो भने घटना न्यूनीकरणमा सहयोग पुग्ने कलाकार दिपेन्द्रमान बनेपालीले बताउनुभयो । उहाँले ४९ जना कलाकारले चित्रमार्फत हिंसाविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै सचेतना फैलाउन योगदान गर्नुभएको जानकारी गराउनुभयो  । कलाकार दिपेन्द्रमान बनेपाली र सुमित्रा श्रेष्ठले कला प्रदर्शनीको संयोजन गर्नुभएको थियो । 
 
नेपालमा पछिल्लो समयमा लैङ्गिक हिंसाका घटना बढिरहेका छन् । हिंसाका घटना प्राय आफन्त र चिनेजानेका व्यक्तिबाटै बढी हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । अझ कम उमेरका बालबालिका यसको सिकार भइरहेका छन् ।