यसरी फेरियो पोखरा पुम्दीकोटको परिचय
-आस्था न्युज
मंसिर २५, २०८० काठमाडौं ।
पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू ।
एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन् । यसका लागि केही वर्षअघिसम्म शान्ति स्तुपा अनि सराङ्कोट धेरैको रोजाइ थियो । तर, पछिल्लो समय पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोट डाँडा पनि यसको विकल्प बनेको छ ।
शान्ति स्तुपाबाट केही पर विशाल महादेवको मूर्ति निर्माणपछि पुम्दीकोट डाँडाको परिचय नै फेरिएको छ । नजिकैको शान्ति स्तूपामा पर्यटक आएको देख्दा पुम्दीकोटका स्थानीय यहाँ पनि पर्यटक ल्याउन हौसिए । उनीहरूले ‘भ्यूटावर’ निर्माणदेखि धेरै योजना अघि सारे । सोही समयमा व्यवसायी तथा समाजसेवी चन्द्रकान्त बरालले विशाल महादेवको मूर्ति बनाउने योजना ल्याउनुभयो ।
उहाँको परिकल्पनामा गाउँलेले साथ दिए । सबै गाउँले मिलेर पुम्दीकोट कोट विकास समिति गठन गरी त्यस ठाउँलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न लागि परे । “पुम्दीकोटमा पूर्खादेखि नै महादेवभूमि देवता भनी पुज्ने चलन थियो । समय–समयमा लाग्ने मेलामा दर्शनार्थी पनि आउथेँ र शिवको दर्शन गरी फर्किन्थेँ”, समाजसेवी बरालले भन्नुभयो, “पुर्खादेखिको धार्मिक आस्थालाई जीवन्तरुप दिन विशाल महादेवको मूर्ति निर्माण गर्ने परिकल्पना आयो ।”
मूर्ति निर्माणार्थ समितिले दुई पटक महायज्ञ आयोजना ग¥यो । पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ र २०७८ मा महाशिवपुराण आयोजना ग¥यो । सुरुमा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा र दोस्रो पटक करिब रु तीन करोड सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो । यो अभियानमा तीनवटै तहका सरकार र आम सर्वसाधारणको साथ र सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।
दोस्रो पटकको महायज्ञपछि मूर्ति स्थापनाको कार्य सुरु गरिएको समितिका सदस्य मातृका बरालले बताउनुभयोे । कोरोना महामारीकै बेला विशाल महादेव मूर्ति ठडियो । अहिले दक्षिण फर्काएर राखिएको ५१ फिट अग्लो महादेवको मूर्ति तयार भएको छ । मूर्ति बनेपछि त्यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
जनस्तरको सक्रियतामा पुम्दीकोटमा महादेवको मूर्ति निर्माण गरिएपछि पुम्दीकोट डाँडाको परिचय फेरिएको समितिका सदस्य मातृकाले बताउनुभयो । रासस