Trending :
 

दरबारमार्गमा मंसिर २८ देखि २०औं हस्तकला व्यापार मेला

मंसिर २५,२०८०

-आस्था न्युज

मंसिर २५, २०८० काठमाडौं । 
नेपाल हस्तकला महासंघले मंसिर २८ देखि पुस २ गतेसम्म २०औं हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ । 
 
महासंघले सोमबार काठमाडौंमा सम्मेलन गरी होटेल अन्नपूर्ण, दरबारमार्गमा मेला तथा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । 
 
उद्यमीहरुलाई प्रोत्साहित गर्ने, स्वदेशी र विदेशी क्रेता तथा बिक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञान आदानप्रदान गर्ने मेलाको उद्देश्य रहेको आयोजकले जनाएको छ । 
 
‘उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तरराष्ट्रिय बजारका आयातकर्ताहरुको चाहनाअनुरुप वस्तु डिजाइन र रंग संयोजनका बारेमा उद्यमी–व्यवसायीहरुमा जानकारी आदानप्रदान गर्ने स्वदेशी र विदेशी क्रेता तथा बिक्रेताबीच सीप, प्रविधि, डिजाइन र ज्ञानको आदानप्रदान गर्ने मेलाको मुख्य उद्देश्य छ’ आयोजकले भनेको छ ।
 
मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हुने आयोजकले जनाएको छ ।
 
मेलामा हस्तकलाका वस्तुहरुको करिब १३० वटा स्टलहरु रहने छन् । विदेशी प्रदर्शनीकर्तामा पकिस्तान, बांगलादेशबाट व्यापारीहरुको सहभागिता रहने जनाइएको छ ।
 
व्यापार मेलामा महासंघका सदस्य विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला हस्तकला संघ र बस्तुगत संघहरु समेतको सहभागिता रहने छ ।
 
मेलामा प्याभिलियनमार्फत बागमति प्रदेश प्याभिलियन, ललितपुर महानगरपालिका प्याभिलियन, महासंघको बस्तुगत संघहरु र काठमाडौं महानगरपालिका तथा ललितपुर महानगरपालिका विभिन्न वडाहरुको समूहको प्रदर्शनी पनि रहने छ ।
 
यस्तै, विभिन्न स्टलमा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा आदि हस्तकला सामानहरुको प्रदर्शनी गरिने भएको छ ।