पोखरा रंगशाला सञ्चालन र व्यवस्थापनको पहलका लागि कार्यदल गठन
-आस्था न्युज
मंसिर २६, २०८० काठमाडौं ।
पोखरा रंगशाला सञ्चालन र व्यवस्थापनका लागि प्रदेश खेलकुद परिषद गण्डकीले पहल सुरु गरेको छ ।
परिषदको निर्देशनमा जिल्ला खेलकुद विकास समिति कास्कीलाई सञ्चालन र व्यवस्थापनका लागि जिम्मेवारी दिइएको हो ।
परिषदका सदस्य सचिव श्रीधर शर्माको समेत उपस्थितिमा सोमबार सम्पन्न जिल्ला खेलकुद विकास समिति कास्कीको बैठकले प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिलबहादुर गुरुङको अध्यक्षतामा पोखरा रंगशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ ।
कार्यदलको सदस्यमा परिषदका सदस्यहरु केशव पाठक, खगेन्द्र क्षेत्री, विनय थापा, जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँ, जिल्ला खेलकुदकी सचिव कन्चन थापा छन् । सदस्य सचिवमा जिल्ला खेलकुदका कार्यालय प्रमुख सुनबहादुर लामा छन् ।
कार्यदलको सल्लाहकारमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेशकुमार गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, प्रदेश खेलकुदका पूर्वसदस्य सचिव तेजबहादुर गुरुङ र भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हरिप्रसाद पराजुली खेल विज्ञको रुपमा छन् भने पोखरा महानगरको तर्फबाट एकजना जनाप्रतिनिधि राखिएको छ ।
गत भदौ २८ गते काठमाडौमा संघीय सरकारका यूवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्वुको अध्यक्षतामा सम्पन्न राखेपको ११७औं वोर्ड बैठकले राखेप अन्तर्गत सातै प्रदेशमा रहेका खेल पूर्वाधारहरु प्रदेश खेलकुद परिषदअन्तर्गत व्यवस्थापन गर्न निर्णय गरेको थियो ।