Trending :
 

मकवानपुरमा रेफ्री कुट्ने खेलाडि र क्लबलाई कारबाही, ३ वर्षसम्म प्रतिबन्ध

मंसिर २६,२०८०

-आस्था न्युज

मंसिर २६, २०८० काठमाडौं । 
मकवानपुरमाको हेटौंडामा जारी मकवानपुर जिल्ला लिग क्वालिफाई फुटबल प्रतियोगितामा रेफ्री कुटेका रिभाईभर युवा क्लबका खेलाडिलाई कारबाही भएको छ। 
 
सोमबार पञ्चसील युवा क्लब र रिभाईभर क्लबबीचको खेल सकिएपछि रिभाईभर युवा क्लबका खेलाडिले मुख्य रेफ्री बिशाल घलान र असिस्टेन्ट रेफ्री देवकुमार कार्कीलाई कुटपिट गरेका थिए । 
 
मंगलबार सो विषयमा मकवानपुर जिल्ला फुटबल संघले कुटपिटमा संलग्न २ जना खेलाडिसहित क्लबलाई एन्फाद्वारा खेलाइने र एन्फा रेफ्री संलग्न कुनैपनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध गरेको छ । 
 
संघले रिभाईभर युवा क्लबलाई तीन वर्षको लागि एन्फाले आयोजना गर्ने खेलमा प्रतिबन्ध गरेको छ । 
 
यस्तै रेफ्री र असिस्टेन्ट रेफ्रि कुट्ने क्लबका कप्तान तथा गोलकिपर अनिल लोलाई २ वर्ष, खेलाडि सुनिल खड्की र टिम व्यवस्थापक कृष्ण बहादुर ठकुरिलाई समान ३ वर्षको लगि संघले प्रतिबन्ध गरेको हो ।  
 
कमिटीको नियमावली अनुसार कुटपिट गर्ने खेलाडी र टिम म्यानेजर तथा क्लबलाई  कारबाही गरिएको मकवानपुर जिल्ला फुटबल संघका सचिव सुनिल लोचनले जानकारी दिए । 
 
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा मंसिर २२ गतेबाट जारी उक्त प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । सो प्रतियोगिता मंसिर ३० गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगिताबाट दुईवटा टिमले जिल्ला लिगमा सहभागिता जनाउन पाउनेछन् ।