Trending :
 

पर्यटन प्रवर्द्धनका लागि दोलखाको सैलुुङमा ‘कविता यात्रा’ आयोजना हुने

मंसिर २६,२०८०

-आस्था न्युज

मंसिर २६, २०८० काठमाडौं । 
साहित्यिक पत्रकार सङ्घको आयोजनामा दोलखाको सैलुुङमा ‘कविता यात्रा’ आयोजना हुनेभएको छ । दोलखाको सैलुुङको पर्यटन प्रवर्द्धन गर्ने हेतुले साहित्यकारहरुको उपस्तिथिमा कविता यात्रा हुने वरिष्ठ साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो । 
 
यात्रामा विभिन्न विधाका वरिष्ठ साहित्यकारहरु तीन दिनका लागि दोलखा आउनुहुने छ । दोलखाको चरिकोट हुँदै तामाकोशी किनारमा रहेको चर्णावतीधामको ज्येष्ठ नागरिक सेवा केन्द्रमा  आगामी पुुस ४ गते बेलुकी बास बसी भोलिपल्ट पुस ५ गते सैलुङको सय थुम्काको अवलोकन  भ्रमण गरी सैलुुङको थुम्कामा साहित्यकारहरुले आफ्ना रचना प्रस्तुत गर्नुहुनेछ । 
 
सैलुुङमा रचना वाचनपश्चात् साहित्यकारको टोलीले कालापानी रात बिताउने छ भने पुस ६ गते सैलुुङ गाउँपालिका-८ सैलुुङ वडाको आयोजनामा हुने साहित्यिक कार्यक्रममा सहभागी हुनेछ । तीन दिनमा साहित्यकारहरुले नियात्रासहितका विभिन्न विधामा सैलुुङको प्रचारप्रसारमा कलम चलाउनेछन् । यस कार्यक्रमको आयोजना गर्न विशेष पहल दोलखाका वरिष्ठ समाजसेवी सोभित उप्रेतीले गर्नुभएको हो । 
 
कार्यक्रमले दोलखाको सैलुुङलगायत विभिन्न स्थानको पर्यटन प्रवर्द्धनमा टेवा पुुग्ने आयोजकले बताएको छ । कार्यक्रममा गायिका गायककोसमेत उपस्थित हुनेछ । साहित्यिक पत्रकार सङ्घले यसअघिको इलाममा कविता यात्रा आयोजना गरेको थियो ।