Trending :
 

काठमाडौंका मुख्य चोकहरुमा सुर्तीजन्य पदार्थ बेचबिखन निगरानीमा महानगर प्रहरी सक्रिय

मंसिर २८,२०८०

-आस्था न्युज

मंसिर २८, २०८० काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले आजदेखि शहरका पसलहरुमा सुर्तीजन्य पदार्थ बेचबिखन भएनभएको निगरानी गर्न जनशक्ति परिचालन गरेको बताएको छ ।
 
 कोटेश्वर, बालाजु, महाराजगञ्ज, चावहिल र गौशाला क्षेत्रमा महानगर प्रहरीले लुकाएर बिक्री गरिरहेका पसलहरुमा गएर पहिलो पटकलाई सचेत गराईरहेको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताए ।
 
पहिलो दिन भएकाले महानगर प्रहरीले व्यापारीहरुलाई सचेत गराउँदै हिँडिरहेको तर बिक्री वितरणमा भने पूर्ण निगरानी राखिएको विभाग प्रमुख पौडेलले नेपाल न्यूज बैंकसँग बताए ।
 
महानगरले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर परेको, प्रदूषण र शहरमा बढ्दो दृश्य प्रदूषण रोक्न काठमाडौँ भित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती, खैनी, गुट्टका, सुर्तीहरूको बिक्रवितरणमा आजदेखि प्रतिबन्धको घोषणा गरेको छ ।
 
बुधबार पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले मङ्सिर २८ गतेदेखि काठमाडौँ भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरिएको जानकारी गराएका थिए । आज मङ्सिर २८ गतेपछि काठमाडौँमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने उनले  बताएका थिए ।
 
महानगरले पसलमा यस्ता पदार्थ बेचेको पाइए दुई पटक सम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिएको छ ।
 
महानगरले अनुगमनको लागि महानगरपालिकाले सादा पोसाकमा १० जनाको टोलीमा नगर प्रहरीलाई खटाएको छ भने पहिलो चरणमा अनुगमनको लागि ५० जना नगर प्रहरी परिचालन गरेको जनाएको छ ।  
 
महानगरले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धूम्रपान गर्न पनि प्रतिबन्ध लगाएको छ ।
 
सार्वजनिक स्थलमा धूम्रपान गरेको पाइए १ सय रुपैयाँसम्म जरिवाना गर्ने यसअघिको निर्णय कार्यान्वयनमा पनि कडाइ गरिने महानगरले चेतावनी दिएको छ ।
 
जनस्वास्थ्यमा परेको प्रतिकुल प्रभाव रोक्न, शहरी सौदर्य कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको महानगरको भनाई छ ।