बेनी नगरपालिकाद्वारा सात गौरवका योजना सञ्चालन
-आस्था न्युज
मंसिर २९, २०८० काठमाडौं ।
बेनी नगरपालिकाले सात गौरवका योजनालाई कार्यान्वयन गर्न सुरुआत गरेको छ । साना योजनाबाट उपलब्धि नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई सात ठूला योजनामा विनियोजन गरेको थियो । बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसमेतको साझेदारीमा छनोट भएका ठूला योजनाको कार्यान्वयन सुरु भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्र गौरवका योजनाका रूपमा छनोट भएका सबै योजनालाई ठेक्कामार्फत कार्यान्वनय गर्न लागिएको छ । सातवटा योजनामध्ये चारवटा योजना ठेक्का सम्झौता भएर कार्यान्वनयको चरणमा रहेको र तीनवटा ठेक्का सम्झौताको चरणमा रहेको कार्यालयका असिस्टेन्ट सबइन्जिनियर चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
ठेक्का सम्झौता भएकामध्ये सिंगा तातोपानीको माथिल्लो बजार कालोपत्र गर्ने योजनाको काम अघि बढेको छ । रु ३२ लाख ९० हजार बजेट विनियोजन भएको यस योजना रु २५ लाख ६८ हजारमा श्रमजीवी निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ । सम्झौताबमोजिम तातोपानी बजारभित्र ढलान र कालोपत्रको काम अघि बढेको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले जानकारी दिनुभयो ।
नगरपालिकाले सबैभन्दा धेरै प्राथमिकतामा राखेको बेनी-अर्थुङ्गे-तोरीपानी–पात्लेखेत सडकमा रु दुई करोड बजेट विनियोजन भएको छ । यसअघि नगरपालिका र प्रदेश सरकारमार्फत सडक ढलान र कालोपत्र गरी स्तरोन्नति गरिएको ठाउँबाट योजनालाई अघि बढाइने भएको छ । श्रमजीवी निर्माण सेवासँग रु एक करोड ३४ लाख ६७ हजारमा ठेक्का सम्झौता भएको यस योजनामा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गरिने असिस्टेन्ट सबइन्जिनियर थापाले बताउनुभयो ।
पाँच मिटर फराकिलो बनाइने यस सडकमा नाली र पर्खालसमेत निर्माण हुनेछन् । नगरपालिकाले माहारानीथान–छाप–डाँडाखेत सडकलाई कालोपत्र र ढलान गरी स्तरोन्नति गर्न ठेक्का लगाएको छ । रु ८३ लाख ५० हजार बजेट विनियोजन भएको यस सडकखण्डको करिब चार सय मिटर सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गर्न श्रमजीवी निर्माण सेवासँग रु ५९ लाख ५९ हजारमा ठेक्का सम्झौता भएको छ ।
नगरपालिकाले बेनीबाट वडा नं ५ पुलाचौरको वडा कार्यालयलाई जोड्ने गरी अघिल्ला वर्षहरूमा समेत कालोपत्र र ढलान गरी सडक स्तरोन्नति गर्न सुरु भएको योजनालाई यस वर्षसमेत निरन्तरता दिएको छ । अर्थुङ्गे–पुलाचौर–भूतपानी सडक स्तरोन्नतिका लागि रु ८० लाख बजेट विनियोजन भएकामा रु ५९ लाख ५२ हजारमा ठेक्का सम्झौता भएको छ । बाँसबोट क्षेत्रबाट सडकलाई कालोपत्र, ढलान, नाली र पर्खाल निर्माणलगायतका काम गरेर सडक पक्की बनाइने नगरपालिकाले जनाएको छ ।
यी चारवटै सडक पूर्वाधारका योजनाको जिम्मा पाएको श्रमजीवी निर्माण सेवाले योजनाको सम्झौतालगत्तै कार्यक्षेत्रमा मेसिन, उपकरण र निर्माण सामग्रीको व्यवस्थापन गर्न सुरु गरेको जनाएको छ । “तातोपानीमा सडक कालोपत्रको काम भइरहेको छ, अन्य ठाउँमा समेत काम सुरु हुँदैछ, निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्नेगरी जनशक्ति र मेसिन उपकरणको व्यवस्थापन गर्नेतर्फ प्रयासरत छु”, निर्माण व्यवसायी बानियाँले भन्नुभयो ।