मेलम्ची खानेपानी सञ्चालनमा ल्याउन सरकारको चासो नदिएको कांग्रेस नेताको आरोप
-आस्था न्युज
मंसिर ३०, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले अर्बौं रुपैयाँ खर्च गरेर बनाएको मेलम्ची खानेपानी आयोजनामा सञ्चालनमा सरकार गम्भीर नदेखिएको बताएका छन् ।
उनले सरकारले चाहेमा अस्थायीरूपमा भएपनि तत्कालै मर्मतसम्भार गरेर काठमाडौंलाई पानी खुवाउन सकिने अवस्था रहेको बताए ।
शुक्रबार मेलम्ची खानेपानी आयोजनाको मुहानसम्मै पुगेर स्थलगत अवलोकन गरेपछि सांसद पौडेलले आयोजना सञ्चालनमा सरकारको कम चासो देखिएको आरोप लगाएका हुन् ।
‘मेलम्चीको पानी कहिले आउँछ भनेर काठमाडौंले पर्खिरहेको छ । सरकारले आउँछ, बनाउँदैछौँ भनिरहेको छ । तर काठमाडौँबासीले पानी खान पाएका छैनन् । पहिले केही समय पानी पुगेको हो । अहिले लामो समयदेखि पानी खाने अवस्था बनेको छैन,’ सांसद पौडेलले न्यूज बैंकसँग भने, ‘अहिले तत्काल अस्थायी समाधान गर्नकालागि गाह्रो देखिदैन । सुरूङमा बाढीले त्यस्तो धेरै फोहोर जम्मा गरेको अवस्था पनि होइन । थोरै प्रयास गर्दामात्रै पनि पानी लैजान सकिने अवस्था छ । अर्बौँ खर्च भइसकेको राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा सरकार थोरै गम्भीर हुनुपर्छ ।’
काठमाडौं–५ बाट निर्वाचित सांसद पौडेलले काठमाडौंबासीलाई तत्कालै पानीको प्यास मेटाउने गरी आयोजनाको अघि बढाउन सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत ध्यानाकर्षण गराउने बताए ।
‘यहाँ सुरूङभित्रको फोहोर सफा गर्ने भन्दा पनि ठेकेदारले भुक्तानी नपाएको र त्यहीकारण काम हुन नसकेको स्थिति देखिएको छ । यसरी अरबौँ खर्च गरेर बनाएको योजनामा साना साना कुराले अल्झाउनुहुदैन,’ उनले भने, ‘समस्या छ भनतेर छोडिराख्नु भएन । के समस्या हो ? कसरी समाधान गर्न सकिन्छ भनेर काम सुरू हुनुप¥यो ।’
उनले सरकारले आयोजनालाई दिगो बनाउने विषयमा समेत ध्यान दिनुपर्ने माग गरे ।