सार्वजनिक स्थानबाट १६ वटा मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ
-आस्था न्युज
पुष २, २०८० काठमाडौं ।
विराटनगर महानगरका विभिन्न स्थानबाट १६ वटा मोटरसाइकल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह २ का २१ वर्षीय निकाइल अन्सारी र सुनसरीकै हरिनगरा ६ का ३९ वर्षीय नजाम अन्सारी छन् ।
केही समययता विराटनगरका विभिन्न सार्वजनिक स्थलबाट मोटरसाइकल चोरी हुने क्रम बढेपछि प्रहरीले निगरानी तीव्र बनाएको थियो । त्यस क्रममा उनीहरु पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए ।
प्रहरीले अनुसन्धान गर्ने क्रममा नोवेल अस्पताल, विराट टिचिङ अस्पताल, कोशी अस्पताल, सेन्ट्रल मल र पुरानो गुद्री लगायतका बढी भिडभाड हुने स्थानहरूबाट हराएका १६ वटा मोटरसाइकलहरूको चोरीमा उनीहरुको संलग्नता रहेको जनाएको छ ।
नोवेल अस्पतालबाट ५ वटा, सेन्ट्रल मलबाट ४, कोशी अस्पतालबाट १, गुद्री बजारबाट १, मालपोत कार्यालयबाट १, नापी कार्यालयबाट १ र विराट टिचिङ अस्पताल र अन्य क्षेत्रबाट चोरी भएकासहित गरी १६ वटा मोटरसाइकल चोरीमा उनीहरुको संलग्नता देखिएको जनाइएको छ ।
पक्राउ परेकाहरुको साथबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ पनि प्रहरीले बरामद भएको जनाइएको छ ।