Trending :
 

नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन पुस अन्तिम साता, तयारी तीब्र

पौष ०३,२०८०

-आस्था न्युज

पुष ३, २०८० काठमाडौं । 
नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन यही पुस अन्तिम साता हुँदैछ । पार्टीको आधारभूमि कैलालीको टिकापुरमा हुने महाधिवेशनकालागि नागरिक उन्मुक्तिले तयारी तीब्र पारेको छ ।
 
महाधिवेशनकालागि देशभरिबाट प्रतिनिधिहरु चयन हुनेक्रम रहेको र अतिथिहरुकालागि निमन्त्रणा दिनेक्रम चलिरहेको सो पार्टीका संरक्षक रेशमलाल चौधरीले बताए । 
 
उनका अनुसार महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरु सहभागी हुनेछन् । तर सर्वसम्मतरुपमा नेतृत्व चयन हुनेछ । 
 
पहिलो महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ । विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ । 
 
०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सीट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ भने राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बन्न पुगेको छ । 
 
टिकापुर घटनापछि जेल परेका संरक्षक चौधरीले जेलबाटै श्रीमती रन्जिता चौधरीलाई अध्यक्ष बनाएर पार्टी गठन गरेका थिए । अध्यक्ष चौधरी चुनाव जितेर अहिले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रीसमेत छिन् । 
 
सरकारले कानूनबमोजिम सजाय माफी गरेपछि जेलमुक्त भएका चौधरी अहिले पार्टी संगठनमा व्यस्त छन् । संरक्षक चौधरीले सोमबार प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर महाधिवेशनकालागि निम्तो दिएको बताए ।