Trending :
 

मलेसियामा इजरायली जहाजलाई प्रतिबन्ध

पौष ०५,२०८०

-आस्था न्युज

पुस ५, २०८० काठमाडौं ।
मलेसियाले आफ्ना बन्दरगाहहरुमा इजरायलको स्वामित्वमा रहेका जहाजहरुलाई प्रतिबन्ध लगाएको छ । 
 
इजरायल र प्यालेस्टाइनी समूह हमास युद्धका कारण मलेसिया सरकारले इजरायलको स्वामित्वमा रहेका र इजरायलको झण्डा फहराइएका जहाजहरू र इजरायलका लागि जाने अन्य सबै जहाजहरूलाई आफ्ना बन्दरगाहहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
 
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले इजरायलले प्यालेस्टाइनविरुद्ध मानवीय सिद्धान्त विपरित लगातार आक्रमण गरेको र अन्तर्राष्ट्रिय नियमहरूको उल्लङ्घन गरेकाले जहाजहरुलाई प्रतिबन्ध लगाइएको बताएका छन् । 
 
मलेसिया, मुस्लिम बाहुल्य देश, प्यालेस्टिनी जनताको पक्षमा वकालत गर्दै आएको छ । मलेसियाले अहिलेसम्म इजरायललाई देशको मान्यता नै दिएको छैन ।
 
अक्टोबरमा हमास आतंककारीले इजरायलमा गरेको हमलापछि इजरायली सेनाले गाजामा लगातार आक्रमण गरिरहेको छ । 
 
हालै, इजरायली सेनाले गाजामा बमबारी गरेपछि त्यहाँका मानिसहरूले मलेसियाली प्रधानमन्त्रीलाई दबाब दिन ¥याली निकालेका थिए ।
 
मलेसियाली राहदानीमा ‘इजरायल बाहेक सबै देशका लागि मान्य’ भन्ने स्पष्ट उल्लेख छ । इजरायली नागरिकलाई बिना अनुमति मलेसिया प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । 
 
मलेसिया सरकारले सन् २००५ देखि इजरायलमा दर्ता भएका कम्पनी र जहाजलाई मलेसियामा अनुमति दिएको घोषणा गरे पनि अहिले वर्तमान सरकारले अघिल्लो मन्त्रिपरिषद्को यो निर्णयलाई उल्टाउँदै मलेसियाका बन्दरगाहबाट इजरायली जहाजलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।