रामराजा प्रसाद सिंह प्रतिष्ठान बनाउन माग गर्दै सप्तरीका युवाले प्रधानमन्त्रीलाई बुझाए १० हजार हस्ताक्षर
-आस्था न्युज
पुस ५, २०८० काठमाडौं ।
सप्तरीका युवाहरूले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सप्तरी युथ नेपालका तर्फबाट बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर युवाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्थानीयबासीको १० हजार हस्ताक्षर बुझाएका छन् ।
प्रतिष्ठान निर्माण गर्न सरकारले ढिला गरेपछि युवाहरूले हस्ताक्षर संकलन गरी बुझाएर सरकारलाई दबाब दिएका हुन् । जवाफमा प्रधानमन्त्री दाहालले प्रतिष्ठानको काम अघि बढाउने प्रतिवद्धता जनाए । उनले प्रष्ठिानको रिक्त पदाधिकारी नियुक्ति लगायतका सबै काम अघि बढाउने बताए ।
‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा म जानकार छु, कानुनी र प्राबिधिक सबै कुरा अघि बढ्छ,’ प्रधानमन्त्री दाहालले भने ।
सरकारले सप्तरीको राजबिराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियोे । प्रतिष्ठानको शिलान्यास समेत भइसकेको छ । तर काम भने अघि बढेको छैन । सरकारले प्रतिष्ठानमा पदाधिकारी नियुक्त र आवश्यक बजेट भने दिएको छैन ।