अन्नबाली छोडेर फलफूल खेतीमा किसान
-आस्था न्युज
पुस ५, २०८० काठमाडौं ।
ओखलढुंगा सिद्धिचरण नगरपालिका (सिनपा) ३ बाँसबोटेका अष्टबहादुर राई बहालवाला शिक्षक हुन् । उमेरले ५० नाघेका राई विद्यालयको समय सकिने बित्तिकै सुन्तलाबारीमा भेटिन्छन् । खेतबारीमा अन्नबाली लगाउन नसकेपछि उनले छ वर्षअघि दुईसयबोट सुन्तला रोपेका थिए । गतवर्षदेखि आम्दानी दिन थालेपछि उनले बिरुवाको संख्या बढाएका छन् । अहिले सात सय बोट रोपिसके ।
‘गाउँमा युवा छैनन् । सबै विदेशीए ।’ अष्टबहादुरले भने, ‘बुढेसकाल लागेपछि फलफूल खेतीमा जाँगर चलाइयो । पछि युवाहरु गाउँ फर्केर सम्हाल्छन् कि भन्ने आश छ ।’ उनीहरुले ४० घरधुरी मिलेर एभरेष्ट कृषि सहकारी दर्ता गरेका छन् । सहकारीकै नेतृत्वमा सिनपा ३ मा १५ हजार बोट सुन्तला र कागती रोपिसके ।
‘प्रत्येक घरले थोरैमा ४० बोट सुन्तला रोपेका छौँ ।’ एभरेष्ट सहकारीका अध्यक्ष डिकबहादुर राईले भने, ‘सुन्तला ब्लकको रुपमा हाम्रा वडामा कृषि ज्ञान केन्द्रले सहयोग गरिरहेको छ ।’ गतवर्ष २५ लाखको सिंचाई ट्यांकी निर्माण गर्न कृषि ज्ञान केन्द्रले बजेट उपलब्ध गराएको थियो । हालसम्म यस वडाबाट उत्पादित सुन्तला स्थानीय बजारमै बिक्री भईरहेको छ । तर केही वर्षपछि उत्पादन बढ्ने भएकोले जिल्ला बाहिरको बजारको खोजी गर्ने योजनामा स्थानीय छन् ।
सिनपा ५ का ३५ वर्षिय निमानुरी शेर्पा छ वर्ष मलेसिया बसेर फर्किए । गाउँमा अन्नबाली बाँदरले खानै नदिएपछि चारवर्षअघि उनले किवि खेती शुरु गरे । १२ रोपनी क्षेत्रफलमा किवी रोपेका उनको किवि पोहोर सालदेखि फल्न थाल्यो । पहिलो लटमै एक हजार दुई सय किलो फलाए । बाँदरले किवि फल नखाएपछि उनी किवि खेतीमा हौसिएका छन् । यसवर्ष तीन हजार किलो उत्पादन हुने अनुमान गरेका छन् ।
‘किविले मात्रै नहोला भनेर मैले पोहोरदेखि दन्ते ओखर पनि रोपेको छु ।’ निमानुरीले भने, ‘अब फलफूल मात्रै रोप्ने योजना बनाएको छु । तुरुन्तै नबिग्रिने खालको फलफूल रोपेमा बिक्रीका लागि समेत समस्या नहुने रहेछ ।’
सिनपा ३ का ७७ वर्षिय बलबहादुर राईले १५ वर्षदेखि फलफूल नर्सरी व्यवसाय गर्दै आएका छन् । खासगरि कागती र सुन्तलाको बेर्ना उत्पादन गर्ने राईको आम्दानी वार्षिक तीनदेखि पाँच लाख छ । पछिल्लो समय जिल्लाभित्रै धेरैजसो बेर्ना बिक्री हुने गरेको राईले बताए ।
‘पहिले लगेर सुन्तला कागती रोप भन्दा पनि मान्दैनथे ।’ उनले भने, ‘अहिले किनेर लानेहरुको संख्या बढेको छ । यसले फलफूल खेतीमा आकर्षण बढेको देखिन्छ ।’
सुनकोशी गाउँपालिका १ बलखुमा १५ हजारभन्दा बढी आँपका बोट रोपिएकोमा करिब ५ हजारले यस वर्षदेखि उत्पादन दिन थालिसकेको छ । किसानहरू पछिल्लो समय फलपूmल खेतीतर्फ आकर्षित हुनथालेका छन् । अन्नबाली र तरकारीभन्दा फलपूmल खेती आम्दानीको दिगो स्रोत हुने देखेपछि किसानहरूको आकर्षण फलफूल खेतीमा बढेको हो ।
भूगोलअनुसार बेँसीदेखि लेकसम्मका किसानरूले मेवा, ड्रागनफ्रुट, किवी, केरा, सुन्तला, कागतीजस्ता फलफूलको व्यावसायिक खेती शुरु गरेका छन् । खेती विस्तारले ओखलढुंगा फलपूmलमा आत्मनिर्भर बन्दैगएको छ ।
एकपटकको लगानीले निरन्तर आम्दानी दिने भएकोले तरकारीभन्दा फलपूmल खेती गर्नु राम्रो भएको किसानहरु बताउँछन् । कृषि ज्ञान केन्द्रलगायतका सरकारी निकायले समेत अनुदान कार्यक्रममा फलफूललाई प्राथमिकता दिएको छ ।