Trending :
 

स्पेनिस ला लिगा फुटबलः रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

पौष ०६,२०८०

-आस्था न्युज

पुस ६, २०८० काठमाडौं ।
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । 
 
बिहीवार राति सम्पन्न खेलमा एलाभेसलाई १–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको हो । 
 
रियलले १८ खेलबाट ४५ अंक बनाएको छ । समान ४५ अंक रहेको जिरोना दोस्रो स्थानमा झरेको छ ।
 
जिरोनाले विहीबार राति रियल बेटिससँग एक एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि रियलले जित निकाल्दा शीर्ष स्थान कब्जा गर्न सफल भयो ।
 
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियल ५४ औं मिनेटमा १० खेलाडीमा झरेको थियो । रियलका नाचो रातो कार्ड पाउँदै मैदान छाडेका थिए । 
 
उनले खराब ट्याक्कल गरेपछि भारको सहायताले रातो कार्ड दिइएको थियो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिए पनि अतिरिक्त समयको दोस्रो मिनेटमा रियलले गोल गरेको थियो । 
 
रियलका लुकास भेजक्युजले गोल गरेका थिए । सोही गोल नै रियललाई ३ अंक दिलाउन पर्याप्त भयो । रियलसँग पराजित भएको एलाभेस १६ औं स्थानमा रहेको छ ।
 
ला लिगा अन्तर्गत बिहीवार रातिकै अर्को खेलमा कार्डिज र रियल सोसिडाडले गोलरहित बराबरी खेल्दा मालोर्काले ओसासुनालाई ३–२ ले स्तब्ध बनायो ।