Trending :
 

डुम्रे-छिर्कन सडक कालोपत्रको चरणमा

पौष ०८,२०८०

-आस्था न्युज

पुस ८, २०८० काठमाडौं ।
पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडकअन्र्तगत डुम्रे-छिर्कन छ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेकोे छ । बन्दीपुर–१ नाहलापुलबाट व्यास-१२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएकोे हो ।
 
यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो । पोखरा-मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार कालोपत्र गर्न अर्कोतर्फ धमाधम गिट्टी राखिँदैछ । त्यसमाथि राखिएको ‘बेस’ सुकेपछि प्राइम कोट प्रयोग गरी कालोपत्र गरिनेछ ।
 
उक्त राजमार्गको पूर्वी खण्डमा करिब १२ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । एक साताभित्र थप तीन किलोमिटर कालोपत्र गरिने इञ्जिनियर पाण्डेले राससलाई जानकारी दिनुभयो । आँबुखैरेनी खण्डमा करिब दुई किलोमिटर बाटो दुवैतर्फ कालोपत्र भइसकेको छ ।
 
पोखरा-मुग्लिन सडक योजना पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो । चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको इञ्जिनियर पाण्डेले बताउनुभयो ।रासस