Trending :
 

कृष्णप्रसाद भट्टराईको निष्ठा र उनले देखाएको बाटोमा कुनै नेता हिड्न सकेनन्ः मेयर महर्जन

पौष ०८,२०८०

-आस्था न्युज

पुस ८, २०८० काठमाडौं ।
ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सन्त नेता कृष्णप्रसाद भट्टराईको निष्ठा र उनले देखाएको बाटोमा कुनै नेता हिड्न नसकेको कारण नै राजनीतिप्रति वितृष्णा बढेको बताएका छन् । 
 
आइतबार सन्त नेता भट्टराईको शतवार्षिक जन्मोत्सवको अवसर पारेर ललितपुरको धापाखेलस्थित ‘नेपाल स्नेही काख’मा जन्मोत्सव मनाउन पुगेका महर्जनले सन्त नेता भट्टराईलाई स्मरण गर्दै भट्टराईले देखाएको बाटोमा कांग्रेस हिँड्न सकेको भए देशमै नागरीकले खुशीसाथ जिवनयापन गर्न सक्ने वातावरण बनिसक्ने टिप्पणी गरे । 
 
‘कृष्णजीले देखाएको मार्गमा हामी हिँड्न सकेको भए,उहाँको त्याग र निष्ठालाई अँगाल्न सकेको भए देश विकास हुन्थ्यो । यहाँका सबै जनताले नेपालमै बसेर सहज रुपमा खुशीसाथ जिवनयापन गर्न सक्ने अवस्था बन्ने थियो ।तर,उहाँको बाटोमा हिँड्ने नेता अहिलेसम्म हामीले कोही देख्न पाएका छैनौ’, प्रमुख महर्जनले भने । 
 
उनले भाषणमा नभएर कांग्रेसले व्यवहारमा भट्टराईले देखाएको बाटोमा हिँड्नुपर्ने बताएका छन् । 
No description available.
‘हामीले किसुनजीले देखाएको बाटोलाई अँगाल्नुपर्छ । उहाँको निष्ठालाई पालना गर्नुपर्छ र हामी लागिरहेका छौं । राजनीतिमा उहाँले देखाएको निष्ठालाई अहिले हामीले पूर्ण रुपमा लागू गर्न सकिरहेका छैनौं होला तर, उहाँको निष्ठाको राजनीतिलाई हामी सबैले अँगाल्नसक्नुपर्छ । अझैपनि कांग्रेस नेता कार्यकर्तालाई उहाँको शतवार्षिक जन्मोत्सवको दिनमा भन्न चाहान्छु,उहाँले देखाएको बाटो अनुसरण भाषणमा होइन व्यवहारमा लागू गर्न जरुरी छ।’
 
भट्टराइको शतवार्षिक अवसर पारेर गोदावरी नगरपालिकाले नेपाल स्नेही काखमा आश्रीत सडक मानवहरुलाई आज खाना खुवाएको छ । संस्थालाई नगरको तर्फबाट केही आर्थिक सहयोग पनि गरेको महर्जनले बताए । 
 
हाल स्नेही संस्थामा ९४ जना आश्रीतहरु रहेका छन् । सो मध्ये १९ जना बालबालीका र बाँकी सबै मानसिक रोगी रहेको परोपकारी संस्था ‘ नेपाल स्नेही काख’की संस्थापक श्रीनेहा पोखरेलले बताइन् । 
 
१४ वर्षदेखी निरन्तर सडक मानवको सेवामा लागेकी पोखरेलले उनीहरुको लागि  दैनिक आवश्यकताहरुको पूर्ति परोपकारी मनले गर्ने सहयोगबाट नै गर्दै आइरहेको बताइन ।
 
पोखरेलले भनिन्, ‘कसैको जन्मदिन,एनिभर्सरीहरु पर्यो भने हामीलाई यहाँ खाना खुवाउन सजिलो हुन्छ। पहिला हामीले घरघरमा पुगेर मुठ्ठी दान पनि संकलन गर्यौं ।हाल जन्मदिन मनाउन,बच्चाको पास्नी,एनिभर्सरीहरु मनाउन आउनेहरुले गर्दा केही सहज भएको छ । आर्थिक रुपले अहिले हामी डाउन नै छौं । जुटेकै सहयोगले चलिरहेको छ ।’
No description available.