Trending :
 

जसपाको कार्यकारिणी समिति बैठक मंगलबार बस्ने

पौष ०९,२०८०

-आस्था न्युज

पुस ९, २०८० काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक मंगलबार बस्दैछ । बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बस्नेछ ।
 
अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।
 
केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनमा पार्टीको अवस्था के हुने ? भन्ने लगायत विषयहरूमा टुंगो लगाउने बताए । ‘अध्यक्षज्यू, निरन्तर काठमाडौंबाहिर हुनुभयो ।
 
नियमित छलफलसमेत हुन पाएको छैन,’ उनले भने, ‘यो बैठकमा समसामयिक राजनीतिक विषयहरूमै छलफल हुन्छ, र राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका विषयमा टुंगो लगाउँछौँ ।’
 
आगामी फागुनमा पदावधि सकिने २० सदस्यमध्ये जसपाका एक सांसद छन् । त्यो सहित जसपाले गठबन्धनमा ४ सिटमा दाबी गर्दै आएको छ । तर गठबन्धनमा सिट बाँडफाँडको विषयमा अझै टुंगिएको छैन ।