Trending :
 

देशभरिको तापक्रम घट्नेक्रममा, चिसोबाट बच्न शतर्कता अपनाउन अनुरोध

पौष ०९,२०८०

-आस्था न्युज

पुस ९, २०८० काठमाडौं ।
देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 
 
महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि चिसो बढिरहेकाले आवश्यक शर्तकता अपनाउन सबैमा अनुरोध गर्नुभयो । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।
 
“पश्चिमी वायुको आंशिक प्रभाव छ । केही दिनलाई ठूलो मौसमी प्रणालीको प्रभाव छैन”, मौसमविद् पुडासैनीले भन्नुभयो । आज कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
 
महाशाखाको विवरणमा बिहान तराईका विराटनगर, जनकपुर र भैरहवामा बाक्लो हुस्सु÷कुइरो लागेको थियो । आज काठमाडौँको न्यूनतम तापक्रम पाँच दशमलव चार र अधिकतम तापक्रम १८ डिग्रिसेल्सियस रहेको छ । तापक्रम घटेकाले काठमाडौँमा अत्याधिक चिसो बढेको छ ।
 
दिउँसो घाम लागेपनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ । सबैभन्दा कम जुम्लामा माइनस दुई दशमलव आठ डिग्रिसेल्सियस तापक्रम मापन गरिएको महाशाले उल्लेख गरेको छ ।