Trending :
 

हितानको ‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

पौष ०९,२०८०

-आस्था न्युज

पुस ९, २०८० काठमाडौं ।
विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई’ ले अरनिको अन्तर्राष्ट्रिय पुरस्कार पाउने भएको छ । 
 
गैरआवासीय नेपाली संघको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिले २०७९ सालमा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्ये बेलायतमा बसोबास गर्ने हितानको उक्त उपन्यासलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । 
 
छनोट समितिको सिफारिस पुरस्कार व्यवस्थापन समितिको आइतबारको बैठकले अनुमोदन गरेको संघले जनाएको छ ।
 
एक विशेष समारोहका बीच हितानलाई २ लाख रुपैंयाँ नगद र सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गरिने पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले बताए ।
 
उपन्यास गीत संगीतमार्फत् नेपालीको जागरणमा जीवनपर्यन्त लागेका मास्टर मित्रसेन थापाको जीवन कथामा आधारित छ । यसमा गायक थापाको दृष्टिबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत गरिएको छ । उनको संघर्षपूर्ण जीवन र उनी बाँचेको समयको समाजका अनेक पाटाहरूलाई पनि उपन्यासले प्रभावशाली रूपमा उद्घाटित गरेको छ ।
 
समितिले गैरआवासीय नेपाली साहित्यकर्मीद्वारा लेखिएका नेपाली भाषाका कृतिमध्ये बर्सेनि एउटालाई पुरस्कृत गर्दै आएको छ ।
 
२०७७ सालमा पहिलो पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’ ले पाएको थियो भने २०७८ मा चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’ पुरस्कृत भएको थियो ।