कुतियाकवरवासीको पीडाः तटबन्ध नबने बस्ती जोगबुढा नदीमा समाहित हुने
-आस्था न्युज
पुस १०, २०८० काडमाडौँ ।
कञ्चनपुरको दोधाराचादँनी नगरपालिका–१० सीमा बस्ती कुतियाकवरमा तटबन्ध निर्माणमा ढिलाइ भएको छ । तटबन्ध निर्माण गर्न ठेक्का लिएको निर्माण कम्पनीले बेवास्ता गर्दैआएको छ ।
महाकाली र जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर बस्ती दुवै तर्फबाट जोखिममा छ । वस्ती जोगाउन दुई सय मिटर तटबन्ध निर्माणको योजना अघि बढाइएको थियो । सो कार्यको जिम्मा लिएको महेन्द्रनगरस्थित जोशी निर्माणले काम गर्न ढिलाइ गरेको छ ।
कुतियाकबरका स्थानीयवासीले हिउँदमा जसरी पनि तटबन्ध निर्माण गर्न आग्रह गर्दैआएका छन् । “अहिले नदीमा पानी घटेकाले निर्माण गर्न सहज हुन्छ, वर्खामा काम गर्न सकिन्न”, स्थानीय बहादुरसिंह सुनारले भन्नुभयो–“नदीले बर्सेनी बर्खामा खेतीयोग्य जमिन कटान गर्दैआएको छ ।” विसं २०२० मा बसेको सीमा बस्ती बाढीको निरन्तर कटान र डुबानकै कारण हालसम्म यहाँबाट एक सयभन्दा बढी परिवार विस्थापित भइसकेको उहाँले बताउनुभयो ।
बाढीले जग्गा कटान गर्दा बस्ती पातलिँदै गएको छ । अब यहाँ ४२ परिवारको मात्रै बसोबास छ । बर्खामा नदीको भङ्गालो गाउँ पस्दा जमिन बालुवाले भरिएको छ । बालुवाका कारण उब्जनी घट्दै गएको छ ।
जनताको तटबन्ध फिल्ड कार्यालय नं ७ महेन्द्रनगरका प्रमुख श्रीप्रसाद यादवले महाकाली नदीको झोलुङ्गे पुलदेखि दक्षिण कुतियाकवरसम्म महाकालीको तटबन्ध मर्मत र कुतियाकवरमा दुई सय मिटर तटबन्ध निर्माणको सम्झौता भएको बताउनुभयो । “दोधारा–चादँनी झोलुङ्गे पुल नजिक मर्मतको काम चलिरहेको छ”, उहाँले भन्नुभयो-“ कुतियाकवरमा ढुङ्गालगायत निर्माण सामग्री लैजान समस्या भएकाले काममा ढिलाइ भएको हो ।”
कुतियाकवरमा एक किलोमिटरभन्दा बढी लम्बाइको तटबन्ध निर्माण भए मात्रै जमिन जोगिने अवस्था रहेको प्रमुख यादवले भन्नुभयो । कुतियाकवर बस्ती जोगाउन आवश्यक पर्ने तटबन्ध निर्माणका लागि बजेट अभाव भएको उहाँको भनाइ छ । कुतियाकवर सीमा बस्ती जोगाउन र महाकालीको तटबन्ध मर्मतका लागि गत वर्ष रु १६ करोड ८५ लाखमा ठेक्का दिइएको थियो ।
दोधारा चादँनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले वर्षातअघि तटबन्ध निर्माण नभए बस्तीसँगै सीमा नै जोगबुढा नदीमा समाहित हुने अवस्था रहेको बताउनुभयो । “कुतियाकवर बगे नेपाल–भारत सीमा नै जोगबुढा नदीमा परिणत हुन्छ”, उहाँले भन्नुभयो । निर्माण अघि पारी कुतियाकवर जान जोगबुढामा अस्थायी बाटो बनाउनुपर्ने वडाध्यक्ष सिंहको भनाइ छ ।
“कुतियाकवरको झोलुङ्गे पुल वरपर दुई सय २० मिटर तटबन्ध बनिसकेको छ”, उहाँले भन्नुभयो । दलित र विपन्न समुदायको बसोबास रहेको सीमा बस्तीसम्म पुग्न जोगबुढामा झोलुङ्गे पुल बनेपछि सहज भएको हो ।