भिआइपी कल्चर भत्काउँदा लोकतन्त्रको सर्वोच्चता स्थापित भएको प्रधानमन्त्रीको दाबी
-आस्था न्युज
पुस ११, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च तहमा रहेकालाई कानूनले छुनै सक्दैन भन्ने आम मनोविज्ञानलाई सरकारले चिरेको दाबी गरेका छन् । उनले लोकतन्त्रकै सर्वोच्चता पनि स्थापित भएको जिकीर गरे ।
सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै दाहालले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरण लगायतको काण्डहरुमा इतिहासकै सबैभन्दा ठूलो कारबाही र अनुसन्धान सरकारले गरेको बताए । भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता सरकारलाई मिलेको दाहालको जिकीर छ ।
‘मैले संसदमा सुरुकै दिन गरेको संकल्प थियो, सुशासन। देशमा एउटा “भिआइपी कल्चर” स्थापित भइरहेको थियो। हाइ प्रोफाइलहरूलाई कानुनले छुनै सक्दैन भन्ने आममनोविज्ञान बनिरहेको थियो। सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, त्रिभुवन विमानस्थलबाट सुनको अवैध आयात लगायतका काण्डमा इतिहासकै सबैभन्दा ठूलो अनुसन्धान र कारबाही गरेपछि जनतामा लोकतन्त्रप्रति भरोसा बढेको छ,’ दाहालको जिकीर छ ।
दाहाले एक वर्षमै आफूले लोकतन्त्रकै सर्वोच्चता स्थापित गरेको बताएका छन् ।
‘देशमा पहुँच होइन, विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कतै कुनै लापर्रबाही गरेन। यसबाट कानुनको सर्वोच्चतामात्र होइन, लोकतन्त्रकै सर्वोच्चता पनि स्थापित भएको छ। यसलाई मैले लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण भनेको छु।’