Trending :
 

इजरायलसँग लड्न हुथी विद्रोहीका २० हजार लडाकु तयार

पौष ११,२०८०

-आस्था न्युज

पुस ११, २०८० काठमाडौं ।
यमनका हुथी विद्रोहीहरूले इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकुहरूलाई तालिम दिएको बताइएको छ ।
 
लडाकुहरू हुथी कमाण्डर अब्दुल मलिक अल–हुथीको आदेशमा गाजा जान तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले  जनाएका छन् । 
 
यमनी समाचार एजेन्सी साबाले २० हजार लडाकुहरूको प्रशिक्षण पूरा भएको अवसरमा उत्तरपश्चिमी यमनी प्रान्त हज्जाहमा परेड पनि आयोजना गरिएको बताएको छ । 
 
यस क्रममा हुथी लडाकुहरूले आफ्नो हतियार र सैन्य शक्ति प्रदर्शन गरेका थिए । हुथी इरानको नियन्त्रणमा रहेको यमनमा सक्रिय शिया आतंकवादी समूह हो ।
 
हुथी लडाकुहरूले इरानबाट हतियार, तालिम र पैसा पाउँछन् । हुथी विद्रोहीहरूले गाजा पट्टीमा इजरायली आक्रमण नरोकेसम्म र मानवीय सहायता नपुगेसम्म आफ्नो आक्रमण नरोकिने दाबी गरेका छन् । 
 
हुथीले अमेरिकालाई यमनमा आक्रमण नगर्न चेतावनी पनि दिएको छ । हुथी नेता अब्दुल मलिक अल हुथीले अमेरिकाले यमन विरुद्ध कुनै प्रकारको आक्रामक कारबाही गरेमा ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् । 
 
उनले अमेरिकालाई भियतनाम युद्धमाजस्तो परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।