Trending :
 

अधिवक्ताको परीक्षामा सहभागी नगराएपछि कानुन संकायका विद्यार्थीहरु आक्रोसित

पौष ११,२०८०

-आस्था न्युज

पुस ११, २०८० काठमाडौं ।
नेपाल कानून व्यवसायी परिषद्ले लिने अधिवक्ता तहको परीक्षामा सहभागी नगराएपछि नेपाल खुला विश्वविद्यालयअन्तर्गत कानुन संकायका विद्यार्थीहरु आक्रोसित भएका छन् ।  
 
परिषद्ले ३१ औं तहको अधिवक्ताको परीक्षा पुस १३ र १४ गते सञ्चालन गर्दै छ । उक्त परीक्षामा नेपाल खुला विश्वविद्यालयबाट सहभागी हुन फाराम भरेका विद्यार्थीलाई परिषद्ले छुट्टै मिति तोकेको छ । आगामी माघ २६ र २७ गते छुट्टै परीक्षा लिन लागेको जानकारी मंगलबार गराएको थियो । 
 
फाराम भरे पनि आफूहरुलाई आगामी शुक्रबार र शनिबार हुने परीक्षामा सहभागी नगराइ छुट्टै परीक्षा लिन लागेकोमा विद्यार्थीहरु परिषद्बाटै विभेदमा परेको भन्दै आक्रोसित बनेका हुन् । 
 
पूर्वआइजीपी समेत रहेका विद्यार्थी डा.कृष्णकुमार तामाङले परिषद्ले खुला विश्वविद्यालयप्रति दुराषयपूर्ण मनसाय राखेर निजीलाई लाभ हुनेगरी छुट्टै परीक्षामार्फत विद्यार्थीलाई फेल गराउन प्रपञ्च रचेको आरोप लगाए । 
 
‘खुला विश्वविद्यालयका विद्यार्थीहरुलाई अधिवक्ता तहको परीक्षा माघ २६ र २७ गते गर्ने भनेर हिजो परिषदले सूचना निकालेको छ । हिजो बिदाको दिन सूचना निकाल्ने  अर्पझट के परेको थियो ? अरु केही होइन यो षड्यन्त्र हो । खुलामा एक लाखभन्दा बढी जनताका छोराछोरीले कानून व्यवसायी, अधिवक्ता बन्ने अवसर पाउने भए, उनीहरुले चलाएका प्राइभेट कलेजमा वीएएलएलवी गर्नलाई पाँच वर्ष लाग्छ, १० लाख रुपैयाँ लिन्छन् ।
 
खुला विश्वविद्यालयमा सबै विद्यार्थी गए उनीहरु संलग्न व्यापार, व्ययसाय र युनिर्भसिटी सुक्ने भए । त्यसैले जसरी हुन्छ खुला विश्वविद्यालयलाई बन्द गर्ने, विद्यार्थीलाई अलग्गै परीक्षा लिएर फेल गराउने मनसाय छ यहाँ । दुराषय, पूर्वाग्रही षड्यन्त्र हो यो । यो घोर आपत्तिजनक छ,’ डा. तामाङले भने । 
 
तामाङले अदालतको आदेशकै परिषद्ले मानहानि गरेको भन्दै मुद्दा हाल्ने चेतावनी पनि दिए ।