प्रधानमन्त्री कप महिला टी २० क्रिकेटः बागमति विजयी
-आस्था न्युज
पुस १२, २०८० काठमाडौं ।
प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश लगातार छैटौं हार व्यहोर्न बाध्य भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बागमती प्रदेशसँग १० विकेटको हार व्यहोरेको हो ।
कर्णाली प्रदेशले दिएको ४३ रनको लक्ष्य बागमतीले विकेट नगुमाएर पूरा गरेको थियो । बागमती प्रदेशलाई जित दिलाउन यशु पाण्डेले २५ तथा हेलिसा गुरुङले १३ रनको नटआउट पारी खेले ।
पहिला ब्याटिङ गर्दै कर्णाली प्रदेशले १३.४ ओभरमा सवै विकेट गुमाएर ४२ रन बनाएको थियो । कर्णालीका लागि श्रुती बुढाले सर्वाधिक १६ र विना थापाले १२ रन बनाए । किरण कुँवरले ५ रन बनाउँदा तृषणा विश्वकर्मा, गौरी बोहोरा, करिश्मा शाही र निलम शाहीले एक एक रन बनाए ।
यस्तै, एन्जिला थापा, विमला वुढाथोकी, रश्मि खडका र निकिता धमाले खाता पनि खोल्न सकेनन् ।
बागमतीका लागि खुसी डंगोलले सर्वाधिक ४ विकेट लिँदा संस्कृति फुयाँलले २ विकेट लिइन् । यसैगरी सोनी पाख्रीन र विपिसा शाहीले एक एक विकेट लिए ।
बागमती प्रदेश जितका साथ तालिकाको चौथो स्थानमा रहेको छ । एपीएफ र कोशी १०–१० अंकका साथ शीर्ष दुईमा रहँदा सुदूरपश्चिम र बागमति ८–८ अंकका साथ तेस्रो र चौथो स्थानमा छन् । पाँचौं र छैटौं स्थानमा रहेका लुम्बिनी र मधेश प्रदेशको भने चार चार अंक रहेको छ । प्लेअफ पुग्ने चार टिमको टुंगो लागेको छ ।