Trending :
 

प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौती

पौष १२,२०८०

-आस्था न्युज

पुस १२, २०८० काठमाडौं ।
मन्त्रालयपिच्छे विवादमा परेका र अनुकूल काम नगरेका कर्मचारीलाई लगेर थुपार्ने  थलो बनाइएको प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कटौती हुने भएको छ । 
 
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी हालको दरबन्दी ६८ वटा घटाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन । 
 
उनले भनिन्,‘प्रधामानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयको प्रस्तावमा यो निर्णय भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गर्ने, यसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी ६८ वटा कम गर्ने निर्णय भएको छ ।’
 
साथै बैठकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ६ सय ५० रुपैयाँ निर्धारण गर्ने पनि निर्णय गरेको उनले जानकारी दिइन् । बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोक्ने समेत निर्णय गरेको छ ।