कर्णालीका सात जिल्लामा टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गरिने

पौष १२,२०८०

-आस्था न्युज

पुस १२, २०८० काठमाडौं ।
कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पाँच जिल्लामा टाइफाइडविरुद्धको तथा भूकम्पप्रभावित जाजरकोट र रुकुमपश्चिममा टाइफाइडसहित दादुरा–रुबेलाविरुद्धको खोप दिइने भएको हो । 
सोह्र वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिलाई टाइफाइडविरुद्धको तथा छ महिनादेखि १५ वर्ष उमेर समूहलाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । 
 
सुर्खेत, दैलेख, सल्यान, कालिकोट र जुम्लामा टाइफाइडविरुद्धको खोप तत्काल दिइने छ भने हुम्ला, मुगु र डोल्पामा केही समयपछि मात्रै दिइने स्वास्थ्य महाशाखाका प्रमुख वृशबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार हुम्ला, डोल्पा र मुगुमा अहिले अत्यधिक चिसो भएकाले हिउँद सकिएपछि मात्रै अभियान सञ्चालन गरिने छ ।
 
सुर्खेतमा मात्रै करिब दुई लाख बढीलाई आजदेखि टाइफाइडविरुद्ध खोप दिन सुरु गरिएको जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार दुई चरणमा गरी १६ देखि ४५ वर्ष उमेर समूहका दुई लाख एक हजार नौ सय ६३ लाई खोप दिइने छ ।
 
पहिलोचरण आजदेखि १५ गतेसम्म सुर्खेतका चिङ्गाड, चौकुने र बराहाताल गाउँपालिका, लेकबँेसी र पञ्चपुरी नगरपालिकाका ६६ हजार एक सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने छ ।
 
दोस्रोचरणमा वीरेन्द्रनगर, भेरीगङ्गा, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकाका एक लाख ३५ हजार आठ सय २८ लाई टाइफाइडविरुद्धको खोप दिइने जनस्वास्थ्य प्रमुख गौतमले जानकारी दिनुभयो । बाहिरी जिल्लाबाट विभिन्न सिलसिलमा प्रदेश राजधानी वीरेन्द्रनगरमा बसोबास गर्ने नागरिक पनि भएकाले सङ्ख्या केही बढ्नसक्ने उहाँको भनाइ थियो । 
 
गर्भवती, एचआइभी सङ्क्रमित, जटिल खालका बिरामीलाई खोप नदिइने गौतमले बताउनुभयो । उहाँका अनुसार सुर्खेतभरी पाँच सय ४८ खोप केन्द्रबाट खोप सेवा सञ्चालन गगरिएको छ । खोप अभियानका लागि नौ सय ६० स्वास्थ्यकर्मी र नौ सय ६० स्वयम्सेवक परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । 
 
यसअघि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइसकिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।