आरती साहले अझै न्याय नपाउनु लज्जास्पदः पूर्वमन्त्री खान
-आस्था न्युज
पुस १३, २०८० काठमाडौं ।
जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खानले आरती साहको रहस्यमय मृत्युबारे अझै सत्य तथ्य बाहिर नआउनु दुखद भएको बताएका छन् ।
काठमाडौंमा आयोजित आरती साहको न्यायबारे गरिएको एक अन्तरक्रिया कार्यक्रममा उनले घटना भएको १ सय ९७ दिन पुगिसक्दा पनि पीडित परिवारले न्याय नपाउनुले मानव अधिकारको दर्दनाक अवस्था दर्शाएको बताए।
‘यो घट्नाले स्पष्ट पारिरहेको छ । १ सय ९७ दिन वितिसक्दा पनि न्याय नपाउनुले मधेशमा मानव अधिकारको अवस्था कस्तो रहेको छ। ’ उनले भने, ‘ कुनैपनि मानव अधिकारको विषयमा सरकार गम्भिर देखिएको छैन ।’
पटक पटक सदनमा आरती साहको न्यायको माग गर्दापनि सरकार गम्भिर नभएको उनको भनाई छ ।
जनकपुरधाम उपमहानगरपालिका–९ की आरतीको शव घरमै झुन्डिएको अवस्थामा जेठ ७ गते आइतबार बेलुका फेला परेको थियो ।
उनको शरीरभरि जताततै नीलडाम देखिएकोले हत्या गरिएको दाबी माइत पक्षको छ ।
२२ वर्षीया आरतीको हत्या उनकै श्रीमान् मोतीबाबु, देवर रवि, ससुरा मोहन र सासू रेणुले गरेको आरोप आफन्तले लगाएका छन् ।
दुई वर्षअघि सामाजिक परम्परा अनुसार आरतीको विवाह मिथिला विहारी नगरपालिका–३ का मोतीबाबु साहसँग भएको थियो ।
अदालतको आदेश पछि साहका श्रीमान मोतीबाबु भने केहीदिनअघि पक्राउ परेका छन् ।