Trending :
 

मेलम्चीको पानी माघ पहिलो साता काठमाडौं आउने

पौष १३,२०८०

-आस्था न्युज

पुस १३, २०८० काठमाडौं ।
खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पु¥याइने बताउनुभएको छ । 
 
आयोजनाको मुहानस्थल अम्बाथानको आज  अवलोकन गर्दै मन्त्री  यादवले द्रुतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौँ पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गर्नुभयो । उहाँले आयोजनाका स्थानीय भण्डार, सप्लायर्सलगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्रगतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुग्ने बताउनुभयो । 
 
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सरकारको लक्ष्यअनुसार पानी पठाउने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले अम्बाथानमा काम भइरहेको बताउनुभयो । “दैनिक १६/१७ घण्टा काम भइरहेको छ”, उहाँले भन्नुभयो । दैनिक १७ करोड लिटरका दरले काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने सरकारको तयारी छ । क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने आयोजनाले जनाएको छ । 
 
मन्त्री यादवसँगै प्रदेशसभा सदस्य कौशल किशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका सदस्य विष्णुमणि आचार्यलगायतले आयोजनाको मुहानस्थलबारे जानकारी लिनुभएको थियो ।