जबर्जस्ती करणी मुद्दामा सन्दीप दोषी ठहर, धरापमा क्रिकेट करिअर
-आस्था न्युज
पुस १३, २०८० काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछाने जबर्जस्ती करणी कसुरमा दोषी ठहर भएका छन् । १६ महिनाअघि आफ्नी ‘फ्यान’लाई प्रभावमा पारेर बलात्कार गरेको जाहेरीमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार उनलाई कसुरदार ठहर गरेको हो ।
पीडितको बकपत्र तथा कसुर भएका दिनको क्रियाकलापको घटनाक्रमका आधारमा पीडितलाई प्रभावमा पारेर लामिछानेले बलात्कार गरेको फैसला अदालतले गरेको हो । उनलाई न्यूनतम सात वर्ष र बढीमा १० वर्ष कैद सजाय हुनेछ । सजाय निर्धारण भने २५ पुसमा हुने भएको छ ।
पीडितको आर्थिक अवस्थाको समेत फाइदा उठाएर बलात्कार गरेको संक्षिप्त फैसलामा उल्लेख छ । ‘गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्छ,’ न्यायाधीश ढकालको फैसलामा भनिएको छ ।
मुलुकी अपराध संहिता दफा २१९ (१) मा जबर्जस्ती करणी गर्न नहुने र (२) मा १८ वर्षमाथिको महिलासँग मञ्जुरी नलिई करणी गरेमा जबर्जस्ती करणी मानिने उल्लेख छ । २ (क) मा करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी नमानिने भनिएको छ । जिल्ला अदालतको ठहर आदेशमा लामिछानेले पीडितलाई प्रभावमा पारेकाले २ (क)मा टेकेर सहमतिको करणी नमानी जबर्जस्ती करणी भनेको हो ।
साथै, अदालतले पीडित गौशाला २६ लाई बालिग प्रमाणित गरेको छ । यसमा साबिकको रामुका गाविस नुवाकोटको बसाइँसराइ दर्ता रजिस्ट्रर, शंखरापुर नगरपालिका काठमाडौंको बसाइँसराइ दर्ता किताब, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जको डेलिभरी रजिस्ट्रर, गौशाला २६ को बकपत्र, तादी गाउँपालिका-२ वडा कार्यालय नुवाकोटको ५ भदौ ०८० तथा २९ कात्तिक ०७९ को पत्र र संलग्न प्रमाणलाई आधार मानेको छ । ‘यी प्रमाणसमेतबाट गौशाला २६ को जन्ममिति ०६१ असार १८ मा भएको देखिई वारदात हुँदाका दिनमा निजको उमेर १८ वर्ष पुगिसकेको देखियो,’ ठहर आदेशमा भनिएको छ ।
घटना विवरणबाट लामिछानेले ५ भदौ ०७९ मा गौशाला २६ लाई बलात्कार गरेको अदालतको ठहर छ । पीडितको जन्ममिति १८ असार ०६१ अनुसार उनी १८ असार ०७९ मा १८ वर्ष पुगेकी थिइन् । घटना हुँदा १८ वर्ष डेढ महिना उमेर भई बालिग भइसकेकी थिइन् ।