इलामको रोङमा व्यावसायिक मौरीपालन

पौष १८,२०८०

-आस्था न्युज

पुस १८, २०८० काठमाडौं । 
इलामको रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको छ । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको छ । 
 
रोङ वडा नं ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गर्नुभएको छ । करिब ४० वटाका दरले पाँचवटा छुट्टाछट्टै स्थानमा घार व्यवस्थापन गर्नुभएका उहाँले २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएको बताउनुभयो । “मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन, उत्पादनको पाँच प्रतिशतमात्र घारका लागि खर्च गरियो भने मौरी फस्टाउँछ,” उहाँले भन्नुभयो । मह बिक्री गर्न समस्या छैन । व्यापारी घरमै आइपुग्छन् । घरबाट नै प्रतिकिलो रु एक हजार पाँच सयका दरले मह बिक्री हुँदै आएको उहाँले बताउनुभयो । उहाँले वार्षिक दुई सय ५० किलोसम्म मह उत्पादन गर्दै आउनुभएको छ ।
 
अर्का मौरीपालक किसान प्रेमबहादुर राईले वार्षिक करिब एक सय किलो मह उत्पादन गर्नुहुन्छ । तीस आधुनिक घारमा मौरीपालन पाल्नुभएका राई व्यावसायिक महबाटै आत्मनिर्भर भएको बताउनुहुन्छ । मह उत्पादनमा गाउँपालिकानै लागि परेपछि स्थानीयल यस व्यवसायतर्फ आकर्षित भएका हुन् । मौरीपालनलाई गाउँपालिकाको पहिचानका रुपमा स्थापित गर्न कार्यक्रम नै अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो ९सुवास०ले बताउनुभयो । 
 
सुरुमा मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि रु ११ लाख छुट्याए पालिकाले दोस्रो वर्ष २० लाख बजेट छुट्याएको थियो । उक्त बजेटमा किसानले आधुनिक मौरीपालनको सीप सिक्ने, अनुदानमा घार प्राप्त गर्ने अवसर पाएको बताइएको छ  । यसैबीच गुणस्तरीय मह उत्पादन गरेर महको आफ्नै ‘ब्रान्ड’ बनाउने गरी योजना ल्याएको गाउँपालिकाले मह उत्पादन गर्ने किसानको पालिकास्तरीय समिति गठन गरेको छ । 
 
सबै वडाका मौरीपालक किसानको भेलाले केशवप्रसाद लुइँटेलको संयोजकत्वमा पालिकास्तरीय मौरीपालक कृषि सञ्जाल समिति गठन गरेको छ ।  नौ सदस्यीय समितिको सदस्य–सचिवमा रोङ गाउँपालिका कृषि शाखाका तीर्थराज देवकोटा हुनुहुन्छ । सदस्यहरूमा लीलानाथ भण्डारी, मानसिंह तामाङ, दुर्गा तिम्सिना र दाबा स्याङ्बोलगायत रहेको नवगठित समितिका संयोजक लुइँटेलले बताउनुभयो । 
 
गाउँपालिका अध्यक्ष  स्याङ्बो र उपाध्यक्ष विष्णुमाया भुजेलको उपस्थितिमा तदर्थ समिति गठन गरिएको जनाउँदै संयोजक लुइँटेलले यसअघि पालिकाका सबै वडामा मौरीपालक किसानको वडास्तरीय सञ्जालसमेत गठन भइसकेको बताउनुभयो । वडा १ को संयोजकमा टीका नेचाली राई, वडा २ को संयोजक लीलाधर भण्डारी, ३ मा गीता अर्याल, ४ मा मानसिंह तामाङलगायत रहनुभएको छ । 
 
चालु आर्थिक वर्षमा व्यावसायिक मौरीपालनका लागि पालिकाले रु ५० लाख रकम विनियोजन गरेको छ । गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरीपालनको विकासमा लागेको अध्यक्ष स्याङ्बोले जानकारी दिनुभयो । 
 
पर्यावरणीय सन्तुलन कायम गर्न मौरीले राम्रो भूमिका निर्वाह गर्दछ । यसको परागसेचनले तरकारीबाली फल्नसमेत मद्दत गर्ने भएकाले पनि मौरी जोगाउन लगानी गरेको गाउँपालिका उपाध्यक्ष  भुजेलको भनाइ छ । मौरी विकास केन्द्रबाट मह तथा मौरीका घार साथै मौरीसमेत बिक्री वितरण गर्ने र आम्दानीको स्रोत बढाउने उद्देश्य गाउँपालिकाले लिएको उपाध्यक्ष भुजेलले बताउनुभयो । रासस