Trending :
 

रामेछापको गोकुलगंगामा ९० टन किवी उत्पादन

पौष १८,२०८०

-आस्था न्युज

पुस १८, २०८० काठमाडौं । 
रामेछापको गोकुलगंगा गाउँपालिकामा यपसटक ९० टन किवी उत्पादन भएको छ । उत्पादितमध्ये स्थानीय तहले वितरण गरेको बिरुवाबाट मात्रै ५० टन बढी उत्पादन भएको गाउँपालिकाका पूर्व अध्यक्ष खड्ग सुनुवारले बताए । बाँकी ४० टन भने व्यक्तिगत लगानीमा सञ्चालन गरिएका फार्मबाट उत्पादन भएको हो  
 
स्थानीय सरकारले कृषि क्षेत्रमा गरेको लगानी रामेछापमा देखिन थालेको जनप्रतिनिधिहरुले बताएका छन् । गोकुलगंगामा गाउँपालिका कार्यालयले फलफूलको व्यावसायिक उत्पादन बढाउने योजना कार्यान्वयन गरेको छ । 
 
खड्ग सुनुवार नेतृत्वको पहिलो स्थानीय सरकारले कृषिमा व्यवसायीकरणका लागि अनुदानमा ठूलो परिमाणमा फलफूलका बिरुवा वितरण गरेको थियो । तिनै बिरुवाले उत्पादन दिन लागेपछि योजना कार्यान्वयन सहज भएको छ ।  
 
आफू गाउँपालिका अध्यक्ष हुँदा किवीका मात्रै ४० हजार बिरुवा वितरण गरेको सुनुवार बताउँछन् । आफैं पनि अगुवा किसान रहेका उनले भने, ‘किवीका लागि हाम्रो गाउँपालिकाको हावापानी उपयुक्त छ । त्यसैले व्यावसायिक खेतीको लागि बिरुवा वितरण गरेका थियौं, अब उत्पादन दिन थाल्यो ।’ 
 
गोकुलगंगा गाउँपालिकामा सुनुवारकै पालामा किवीका साथै आलु जोन कार्यक्रम पनि सुरु भएको थियो । परम्परागत रूपमा आलु खेती हुँदै आएकोमा परियोजना सुरु भएपछि उन्नत जातको बिउ र प्राविधिक सहयोगले आलुको उत्पादन समेत वृद्धि भएको छ । 
 
स्थानीय किसानको उपज संकलन गरी काठमाडौंसम्म बिक्रीका लागि लैजाने व्यवस्था समेत पूर्वअध्यक्ष सुनुवारले मिलाएका छन् । भक्तपुरमा सटर नै राखेर स्थानीयका उत्पादन संकलन गरेर सुनुवारले बिक्री गर्दै आएका छन् ।