Trending :
 

इरानमा सुलेमानीको चिहान नजिक विस्फोट १ सय बढीको मृत्यु

पौष १९,२०८०

-आस्था न्युज

पुस १९, २०८० काठमाडौं ।
इरानमा लगातार २ वटा बम विस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ ।  सन् २०२० को जनवरी ३ मा बग्दानमा ड्रोन आक्रमणमा मारिएका सैनिक जनरल कासिम सुलेमानीको सम्झनामा आयोजना गरिएको कार्यक्रमलाई लक्षित गरेर विस्फोट भएको थियो । कार्यक्रम सुलेमानीको कब्रस्तान (चिहान) नजिक भएको हो । 
 
घटनामा १७० भन्दा बढी घाइते भएका छन् । यद्यपी विष्फोटको कारणबारे भने केही खुल्न सकेको छैन । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।
 
शीर्ष इरानी जनरल कासिम सुलेमानी बगदाद एयरपोर्टमा अमेरिकी हवाई आक्रमणमा मारिएका थिए ।  उनैको सम्झनामा बुधबार एक कार्यक्रमको आयोजना गरिएको हो ।
 
स्थानीय सञ्चारमाध्यमका अनुसार पहिलो विस्फोट साहेब अल जमान मस्जिद नजिकै भएको थियो । त्यसको केही समयपछि दोस्रो विस्फोट पनि भयो । विस्फोटको आवाज केही किलोमिटर टाढासम्म सुनिएको थियो । घटनास्थलमा बाक्लो धुवाँको मुस्लो देखिएको थियो । केही बेरमै उक्त क्षेत्र मृतक र घाइतेहरूले ढाकेको थियो ।