Trending :
 

राष्ट्रियसभा निर्वाचनः मतदाताको अन्तिम नामावली प्रकाशन आज

पौष २२,२०८०

-आस्था न्युज

पुस २२, २०८० काठमाडौं ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगले पूर्वनिर्धारित कार्यतालिका अनुसार आइतबार मतदाताको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । 
 
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । आयोगले यसअघि नै मतदाता नामावली स्वीकृत गरी सार्वजनिक समेत गरिसकेको छ । 
 
त्यसमाथि उजुरी र कारबाहीसमेत गरेर आइतबार अन्तिम नामावली प्रकाशन हुन लागेको हो । अन्तिम नामावलीमा नाम समावेश नभएका वा छुटेकाहरूले मतदानमा भाग लिन पाउँदैनन् । 
 
आयोगका अनुसार यसपटक कुल मतदाता २ हजार ४७ जना छन् । जसमध्ये प्रदेश सभा सदस्य ५४९ जना र स्थानीय तहका प्रमुख÷उपप्रमुख १ हजार ४९८ जना रहेका छन् । कुल मतभार ५७ हजार ५५९ कायम भएको आयोगले जनाएको छ । 
यसपटक प्रदेशसभा सदस्यको मतभार ५३ छ भने स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ । 
 
माघ ११ गते हुने निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ ।