Trending :
 

शेयर बजारमा हरियाली,साढे ३६ अङ्कले बढ्यो नेप्से

पौष २३,२०८०

-आस्था न्युज

पुस २३, २०८० काठमाडौं ।
शेयर बजार आज सोमवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ५७ अङ्कले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको छ ।
 
आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
 
आज आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजदेखि कारोबारमा आएको हिमालयन रि–इन्सुरेन्सको शेयरमा पनि पहिलो दिन सकारात्मक सर्किट लागेको छ ।
 
आज कुल एक करोड ३७ लाख कित्ता शेयर कारोबार भएकामा सबैभन्दा धेरै निफ्राको मात्रै पाँच लाख २६ हजार कित्ता शेयर खरिदरबिक्री भएको छ । आज चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएका छन् ।