Trending :
 

बंगलादेशमा शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्रीमा विजयी

पौष २३,२०८०

-आस्था न्युज

पुस २३, २०८० काठमाडौं ।
विवाद र प्रतिपक्ष दलको बहिष्कारबीच बंगलादेशमा भएको संसदीय चुनावमा वर्तमान प्रधानमन्त्री शेख हसिना चौथो पटक लगातार विजयी भएकी छिन् । द डेली स्टारका अनुसार हसिनाको अवामी लिगले २२३ सिटमा जित हात पारेको छ । आइतबार २९९ मा निर्वाचन क्षेत्रमा चुनाव भएको थियो । 
 
बंगलादेशी जातीय संसद्‍मा ३५० सांसद हुन्छन् । बाँकी ५० सिट भने महिलाका लागि आरक्षण छुट्याइएको छ ।
 
नवगाउँ(२ मा भने स्वतन्त्र उम्मेदवारको मृत्यु भएकाले चुनाव स्थगित गरिएको थियो । अवामी लिगपछि स्वतन्त्र उम्मेदवारहरूले धेरै ठाउँमा जित हात पारेका छन् । जितसँगै हसिना पुनः एक कार्यकालका लागि बंगलादेशको प्रधानमन्त्री बन्ने भएकी छिन् । शेख हसिनाको यो पाँचौँ कार्यकाल हुनेछ ।
 
उनी पहिलो पटक सन् १९९६ मा बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि २००९ मा उनी पुनः प्रधानमन्त्री बनिन् । त्यसयता लगातार उनी बंगलादेशी सत्तामा रहेकी छिन् । स्वतन्त्र उम्मेदवारहरू ६१ क्षेत्रमा विजयी हुँदा बंगलादेशी संसद्‍मा प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको जातीय पार्टीले ११ सिटमा जित हात पारेको छ । यसअघि २०१८ मा भएको चुनावमा अवामी लिग २५८ सिट र जातीय पार्टी २७ सिटमा विजयी भएको थियो ।
 
बंगलादेशको प्रमुख प्रतिपक्ष दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले चुनाव बहिष्कार गरेको थियो। बीएनपीले धाँधलीपूर्ण तरिकाले गरिएको चुनाव मान्य नहुने बताएको छ । हसिना नेतृत्वको सरकारले चुनावअघि नै बीएनपीका हजारौँ कार्यकर्तालाई पक्राउ गरेको थियो । एजेन्सी