राष्ट्रिय सभामा अब पहिलो दल माओवादी, दोस्रो कांग्रेस
-आस्था न्युज
पुस २४, २०८० काठमाडौं ।
राष्ट्रिय सभा सदस्यको १९ सीटका लागि हुने निर्वाचनमा सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धन विपक्षीसँग प्रतिष्पर्धा गरेरै अघि बढ्ने भएको छ । यसको पुष्टि उनीहरुले सीट भागबण्डासँगै मनोनयन दाखिलाबाट गरेका छन् ।
दलहरु केहीले प्रत्यक्ष निर्वाचनमा हारेका नेतालाई राष्ट्रिय सभामा व्यवस्थापन गर्न खोजेका छन् । केही भने नयाँ अनुहारले उम्मेदवारी दाबी गर्न पाएका छन् । पराजित तर व्यवस्थापनमा गठबन्धनको सदाशयता पाएका नेता कांग्रेसका कृष्णप्रसाद सिटौला हुन् । उनले कोशीबाट मनोनयन दर्ता गराएका छन् । आफ्नै दलभित्र गुटको भागबण्डामा सहमति नहुँदै उनको टिकट पक्का भइसकेको थियो ।
सत्ता गठबन्धन दलहरुले आफ्नो भागमा परेको सिटका लागि मात्र उम्मेदवारी दर्ता गराए । प्रमुख प्रतिपक्षी एमालेले १९ सिटमै प्रतिस्पर्धा गर्दैछ ।
आगामी फागुन २० गते पदावधि पूरा हुने राष्ट्रिय सभाका २० सदस्यमध्ये धेरै अर्थात ९ जना एमालेका छन् । यसमा निर्वाचित ८ छन् भने राष्ट्रपतिले मनोनीत गरेका एक जना छन् । गुमेको सिटमा एमाले फर्किने सम्भावना निकै कम छ । निर्वाचनमा पार्टीहरुको निर्देशनअनुसार मतदाता इमानदार भए १९ सिटमै गठबन्धन दलको वर्चस्व हुने देखिएको छ । राष्ट्रपति कांग्रेसका भएकाले उनले मनोनीत गर्ने सदस्य पनि गठबन्धनभित्रकै नेताको भागमा जाने पक्का छ ।
राष्ट्रिय सभामा अब माओवादी केन्द्र सबैभन्दा ठूलो दल हुने देखिएको छ । माओवादीबाट हाल उपाध्यक्षसमेत १५ जना छन् । ३ जना फागुन २० मा बिदा भए पनि ६ जना निर्वाचित भए माओवादी सांसदको संख्या १८ पुग्नेछ ।
राष्ट्रिय सभामा कांग्रेसका १० सांसद छन् । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । गठबन्धनको योजनाअनुसार नतिजा आए कांग्रेसका १० जना निर्वाचित हुनेछन् । यो अवस्थामा १६ सिटसहित कांग्रेस राष्ट्रिय सभाको दोस्रो ठूलो दल बन्नेछ ।
एकीकृत समाजवादीले गठबन्धनको भागबण्डामा २ सिट पाएको छ । २ सांसद फागुन २० बाट बिदा हुँदा त्यही सीट पदपूर्तिले एकीकृत समाजवादीका लागि यो निर्वाचन खासै लाभहानिको देखिँदैन ।
जबकी अहिले १८ सांसदसहित ठूलो दल रहेको एमाले भने तेस्रो हुने अवस्था आएको छ । ९ सांसद घटेपछि उसका ९ जना बाँकी हुनेछन् । नयाँ संविधान जारीसँगै तीन तहको सरकारको अभ्यासमा मुलुकले अझै धेरै कानुनहरु बनाउनै बाँकी छन् ।
समाजमा पछाडि पारिएका वर्गको पहुँच अझैसम्म सुनिश्चित भइसकेको छैन ।
निर्वाचन आयोगका अनुसार सोमबार दर्ता भएका ५२ मनोनयनमा महिला समूहतर्फ १८, दलिततर्फ ५, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ जनाको छ ।
सबैभन्दा धेरै मनोनयन बागमती प्रदेशमा परेको छ । महिला ४, दलित ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ र अन्य समूहका लागि ४ जना गरी १५ जना उम्मेदवारको मनोनयन परेको छ । कोशी र मधेश प्रदेशमा महिला २ र अन्य समूहका लागि ३ गरि ५÷५ जनाको मनोनयन दर्ता भएको छ ।
गण्डकी प्रदेशमा महिला ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ र अन्य समूहका ३ जना गरी जम्मा ८ जनाको मनोनयन दर्ता भएको छ ।
लुम्बिनीमा महिला ३, अन्य समूहका लागि ४ सहित ७ जनाको मनोनयनपत्र दर्ता भएको छ । कर्णालीमा महिला २, दलित समूहका लागि २ र अन्य समूहका लागि २ गरी जम्मा ६ जनाको मनोनयन दर्ता भएको छ ।
सुदूरपश्चिममा महिला २, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ र अन्य समूहका २ गरी ६ जनाको मनोनयनपत्र दर्ता भएको छ । आयोगले पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते निर्वाचन चिन्ह वितरण गर्ने आयोगको कार्यतालिका छ ।
निर्वाचनका लागि आयोगले मतदाता र मतभार आइतबार सार्वजनिक गरिसकेको छ । जसअनुसार सातै प्रदेशमा प्रदेश सभाका मतदाता ५ सय ४९ छन् भने स्थानीय तहका १ हजार ४ सय ९८ छन् ।
प्रदेश सभामा प्रति मतदाताको ५३ मतभारका दरले जम्मा मतभार २९ हजार ९७ छ । स्थानीय तहको प्रति मतदाताको १९ मतभारका दरले जम्मा मतभार २८ हजार ४ सय ६२ छ । दुवैतर्फ गरेर २ हजार ४७ मतदाताको जम्मा मतभार ५७ हजार ५ सय ५९ छ ।
कहाँ कति मतदाता र मतभार
प्रदेश मतदाता मतभार
कोशी ३६७ १०१३५
मधेश ३७४ १०७४४
वाग्मती ३४७ १०३३३
गण्डकी २३० ६४१०
लुम्बिनी ३०५ ८७५३
कर्णाली १९६ ५०८४
सुदूरपश्चिम २२८ ६१००