Trending :
 

कोशी प्रदेशः सभामुखको निर्वाचन दिउँसो, अम्बरबहादुर विष्ट सर्वसम्मत हुने सम्भावना

पौष २४,२०८०

-आस्था न्युज

पुस २४, २०८० काठमाडौं ।
कोशी प्रदेशसभाका दलहरूले प्रदेशसभाको सभामुख निर्वाचन आज दिउँसो ३ बजे गर्ने निर्णय गरेका छन् । प्रदेशसभाको  कार्यब्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिएकी हुन् ।
 
सभामुखको टुङ्गो लगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक बिहानै देखि चलिरहेको छ। सत्तारुढ गठबन्धनको सहमति अनुसार सभामुख राप्रपाले पाउनेछ । राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिस्टलाई सभामुख बनाउने निर्णय गरिसकेको छ । सभामुखमा बिस्ट निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ ।
 
सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठकले सभामुख लिने निर्णय गरेको छ । प्रमुख विपक्षी नेपाल कम्युनिस्ट पार्टी एमाले दलको बैठक जारी छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रियालगायत विषयमा छलफल गरिरहेको प्रदेशसभा सदस्य अमृत अर्यालले जानकारी दिए ।
 
राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको एक सांसदले बताए । राप्रपा प्रदेश समितिका सभापति राम थापा सहित पदाधिकारसमेत बैठकमा सहभागी थिए ।