चिसो अत्यधिक बढेपछि रौतहटका विद्यालयहरूमा बिदा दिइँदै
-आस्था न्युज
पुस २४, २०८० काठमाडौं ।
रौतहटका १८ वटा पालिकालाई हिउँदे वा वर्षे बिदाबाट जाडो बिदा दिनका लागि शिक्षा विकास तथा समन्वय इकाइले आग्रह गरेको छ ।
इकाइ कार्यालय गौरले एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो । त्यसअनुसार कतिपय विद्यालयहरुले बिदा दिन थालेका छन् ।
शिक्षा नियमावली २०५९ को नियम ८५ को उपनियम ३ मा तोकिएबमोजिम विदा दिन सूचनामा भनिएको छ ।
एक शैक्षिक सत्रमा हिउँद बिदा वा बर्षे बिदा वा दुवै गरी ४५ दिन विद्यालय बन्द रहने प्रावधान बमोजिम बर्षे विदा संञ्चित रहेकोबाट आवश्यकता अनुसार जाडो विदा दिन सुझाव दिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय गौरका प्रमुख रामविनय सिंहद्वारा हस्ताक्षरित सूचनामा जाडो अत्यधिक बढेकाले बिदा दिन आग्रह गरिएको हो ।
चन्द्रपुर नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखाले सामुदायिक तथा संस्थागत विद्यलायलाई पुस २४ गते देखि माघ ५ गतेसम्म विदा दिएको जनाएको छ ।
चन्द्रपुर नगरपालिका वडा नं. ५ मा रहेको जनज्योति माध्यमिक विद्यालयले १३ दिन जाडो विदा दिएको छ ।
चन्द्रपुर नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखा चन्द्रनिगाहपुरको मिति २०८०-९-२३ को च.नं. ३३९ को पत्रानुसार शैक्षिक क्यालेण्डर २०८० बमोजिमको बाँकी रहेकाले १३ दिन बिदा मध्ये कट्टा हुने गरी बिदा दिएको उल्लेख गरेको छ ।
जनज्योति माध्यमिक विद्यालयले सोमबार निकालेको सूचनामा पुस २४ गतेदेखि माघ ५ गते शुक्रबारसम्म विद्यालयको पठन पाठन बन्द गरिएको जनाएको छ ।
विद्यालयको पठनपाठन माघ ७ गतेदेखि यथावत् विद्यालय सञ्चालन हुने जारी सूचनामा उल्लेख छ । तर यस बीचको अवधिमा सार्वजनिक बिदाबाहेक विद्यालय प्रशासन भने खुल्ला रहने जानकारी गराएको छ ।
केही दिनदेखि अत्यधिक चिसो बढेकाले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जाडो विदा दिएको जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
यस अवधिमा आफनो बालबालिकालाई घरमै अध्ययन गराउनका लागि अभिभावकलाई आग्रह समेत गरिएको छ ।