राजधानीमा ‘ग्लोबलाइजेसन अफ कन्टेम्पोररी आर्ट्स’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न
-आस्था न्युज
पुस २४, २०८० काठमाडौं ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा मंगलबार राजधानीमा ‘ग्लोबलाइजेसन अफ कन्टेम्पोररी आर्ट्स’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वक्ताका रूपमा नेपालबाट कलाकार मनिषलाल श्रेष्ठ, अमेरिकाबाट मारी टेलर र जोन फुलर्टन, आयरल्याण्डबाट लोरा मर्फी तथा स्लोभाकियाबाट जुजाना हानाकोभा थिए ।
कार्यक्रमको प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेपाली कलाको विविध आयामको चर्चा गरे । उनले भने, ‘पश्चिमले हाम्रो धेरै कुरा लिएको छ । उनीहरूको पनि हामीले लिएका छौँ । पछिल्लो समय सूचनाप्रविधिले गर्दा एकअर्काको कला बुझ्ने बुझाउने, लिने दिने कुरालाई अझ बढाएको छ ।’
कलाकार लोरा मर्फीले आफ्नो कलाको चर्चा गर्दै कार्यक्रममा सहभागी भएको क्षण अविस्मरणीय भएको बताइन् ।
यस्तै, जोन फुलर्टन र जुजाना हानाकोभाले प्रतिष्ठानमा यस किसिमको कार्यक्रममा उपस्थिति हुन पाउँदा आफू खुसी लागेको भन्दै आभार पनि व्यक्त गरे ।
मनिषलाल श्रेष्ठले २०५० सालपश्चात आफू नेपालमा कलाको संस्थागत रुपले जोडिएको बताउँदै नेपाली कलाका बारेमा आफ्नो धारणा व्यक्त गरे ।
कार्यक्रममा हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपालका पस्मिना, पौभा, थाङ्कालगायतका रैथाने कलाले विश्वका ६५ बढी देशमा बजार पाएको चर्चा गरे ।
महासंघका उपाध्यक्ष डिल्लीरत्न तुलाधारले नेपालको कला अन्तर्राष्ट्रियकरण भइसकेकोे बताउँदै यसमा सबैले साथ दिनुपर्ने बताए ।