Trending :
 

अनुयायी बेपत्ता पारेको आरोपमा रामबहादुर बम्जन पक्राउ, अदालतमा उपस्थित गराउने तयारी

१६ वटा देशका मुद्रासहित कम्तिमा ३ करोड ३४ लाख रुपैयाँ बरामद

पौष २५,२०८०

-आस्था न्युज

पुस २५, २०८० काठमाडौं ।
अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ ।
 
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक उच्च अधिकृतका अनुसार, जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी छ ।
 
ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले २०७५ सालको १८ पुसमा किटानी जोहरी दिएकी थिइन् ।
 
जोहरीमा उल्लेख भएअनुसार रिता बाराको हलखोरियास्थित बम्जनको आश्रममा बसेकी थिइन् । पछि २०६६ सालमा गढीमाई मेलामा गएपछि उनी बेपत्ता थिइन् ।
 
गढीमाई मेलामा आफूले बली रोक्ने भन्दै त्यसबेला बम्जनले उद्घोष गरेका थिए । यद्यपि, त्यसको केही समयपछि उनी एक महिनासम्म हराएका थिए ।
 
यो मुद्दामा जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएकाले बुधबार त्यहाँ उपस्थित गराएपछि अन्यत्रका मुद्दाबारे पनि अध्ययन गर्ने सीआईबीका एक अधिकृतले बताए ।
 
बम्जनको घरमा छापा मारेर प्रहरीले १६ वटा देशका मुद्रासहित कम्तिमा ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ ।
 
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार, बुढानीलकण्ठको हात्तिगौंडास्थित उनी बसिरहेको घरमा छापा मारेर प्रहरीले विभिन्न मुलुकका मुद्रा बरामद गरेको हो ।
 
प्रहरीले बोम्जनको घरबाट कम्तिमा २० वटा मोबाइल, दुई वटा ल्यापटप र १५ वटा पेनड्राइभ पनि बरामद गरेको छ । उनी त्यहाँ श्रीमती र छोराछोरीसहित बसेका थिए ।
 
विशेष सूचनाका आधारमा ब्यूरोका डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले त्यहाँ पुगेर बोम्जनलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि बोम्जनले घरको दुई तलामाथिबाट हामफालेर भाग्ने प्रयास गरेका थिए । यद्यपि, प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।