Trending :
 

अघि बढ्यो वर्षौंदेखि थन्किएका गाडीको लिलामी प्रक्रिया

पौष २५,२०८०

-आस्था न्युज

पुस २५, २०८० काठमाडौं ।
गौर भन्सार कार्यालयले लामो समयदेखि थन्किएर रहेका सवारी साधानको लिलामी प्रक्रिया अघि बढाएको छ । 
 
नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न मितिमा पक्राउ गरी भन्सारमा दाखिला गरेका दुई पाँग्रे र चार पाँग्रे सवारी साधनको लिलाम प्रक्रिया अघि बढाएको गौर भन्सार कार्यालय जनाएको छ । 
 
२०७५ सालदेखि अलपत्र अवस्थामा थन्किएका दुई हजार भन्दा बढी सवारी साधनको समयमा लिलाम नगरिँदा कवाडी बनेको आरोप लागेपछि भन्सार कार्यालयले लिलाम प्रक्रिया अघि बढाएको जनाएको छ । 
 
भन्सार कार्यालयका अनुसार, कार्यालय परिसरमा रहेका गाडीको चालु आर्थिक वर्षमै लिलाम गर्नेगरी प्रक्रिया अघि बढाइएको हो । 
 
लिलामका लागि अहिले गाडीको ‘इन्जिन’ तथा ‘चेचिस’ नम्बर टिप्ने कार्य भइरहेको भन्सार कार्यालयका सूचना अधिकारी रेवतीराम रोक्काले बताए ।
 
गाडीको अवस्थाको आधारमा इन्जिनियरले मूल्याङ्कन गरेपछि मात्र लिलामको लागि सूचना प्रकाशित गराइने सूचना अधिकारी रोक्काले बताए । 
 
विगत पाँच वर्षको अवधीमा ६० वटा भन्दा बढी चार पाँग्रे र दुई हजारभन्दा बढी दुई पाँग्रे सवारी साधन थन्किएको गौर भन्सार कार्यालयको तथ्यांक छ । 
 
भन्सार कार्यालयले समयमै लिलाम प्रक्रिया अघि नबढाउका कारण राजस्व समेत प्रभावित भएको स्थानीयको गुनासो छ । 
 
गौरका युवा नेता रेवन्त झाले सवारी लिलाममा ढिलाई हुँदा जिर्ण अवस्थामा पुगेकाले अव मूल्याकंन समेत कम हुने बताए । 
 
बरामद गरिएको सवारी साधन अलपत्र र अव्यवस्थित अवस्थामा रहेको कारण घाम, वर्षा, शीत, डुबानलगायतले जिर्ण भएको र पाटपुर्जा समेत चोरी भएकाले मूल्याकंन कम हुँदा राजस्वमा कमी आउने उनको तर्क छ । 
 
पर्याप्त कर्मचारी नहुँदा बरामद सवारी साधनको अभिलेख राख्न र लिलाम गर्न नसकेको भन्सार कार्यालयले जनाएको छ । 
 
लिलामी प्रक्रियाबाट कति राजस्व संकलन वा असुल हुन्छ अहिले नै एकिन गर्न नसकिने भन्सार कार्यालयले जानकारी दिएको छ ।