Trending :
 

बिर्तामोडमा सातौं राष्ट्रिय भक्का दिवस हुने

पौष २५,२०८०

-आस्था न्युज

पुस २५, २०८० काठमाडौं ।
पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका राजवंशी समुदायले मनाउँदै आएको भक्का दिवसको सातौं संस्करणको तयारी पूरा भएको छ । राजवंशी समाज विकास समितिले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो ।
 
झापाको बिर्तामोडमा बर्सेनि पुस २९ गते राष्ट्रिय भक्का दिवस मनाइँदै आएको छ । यो पटक डोमालाल राजवंशी रंगशालामा कार्यक्रम गरिने भएको छ । राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीका अनुसार कार्यक्रमको प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको सहभागिता रहने छ । 
 
राजवंशीहरुको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजा भक्काको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले राष्ट्रिय भक्का दिवस मनाइँदै आएको राजवंशीले बताए ।
 
भक्का दिवस सुरु भएपछि तराईको जाडोयाममा भक्का पर्यटनलाई समेत टेवा पुर्याउने र बाह्रै महिना जाडो हुने पहाडी र हिमाली क्षेत्रमा थोरै लगानीमा साना रोजगारका महत्वपूर्ण ढोकाहरु खोलिँदै गएको उनले जानकारी दिए ।
 
यो वर्षको भक्का दिवसमा १ सय ५० जना महिलाले दुई हजार किलोग्राम चामलको पिठोबाट भक्का बनाउने छन् ।
 
कार्यक्रममा प्रस्तुुतिका लागि भारतीय गायिका नीलञ्जना राय झापा आउने भएकी छन् । पश्चिम बंगालकी राय सन् २०२२ को सारेगमपको विजेता हुन् भने २०१७ को भ्वाइस अफ इन्डिया किड्सको उपविजेता र २०१८ को इन्डियन आइडल जुनियरमा तेस्रो भएकी थिइन् ।
 
त्यस्तै, सेलिब्रेटी सेफ सन्तोष साह पनि कार्यक्रममा सहभागी हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा पाँच सयजना कलाकारहरुको सामुहिक लोक सांस्कृतिक राजवंशी नृत्यको प्रस्तुति रहनेछ भने ३० हजारको सहभागिता रहने अनुमान गरिएको छ ।