सार्क क्रियाशील रहन्छः महासचिव सरवार
-आस्था न्युज
पुस २५, २०८० काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गरेका छन् । सवारले जलवायु परिवर्तनको असर न्यूनीकरणमा सार्कलाई क्रियाशील बनाउने बताए ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको शिष्टाचार भेटवार्तामा राष्ट्रपति पौडेलले सार्कको मुख्य उद्देश्यसँगै अहिले देखापरेको जलवायु परिवर्तनका असरका कारण हिन्दकुश हिमालय पर्वत क्षेत्रमा हिमाल बचाउनुपर्नेमा जोड दिएको पौडेलको सचिवालयले जनाएको छ ।
भारत र पाकिस्तानबीच सम्बन्धमा कटुताको असर सार्कमा परेको छ । पछिल्ला वर्ष अपेक्षाकृतरुपमा सार्कले दक्षिण एसियाली मुलुकको परस्पर हितका काममा नयाँ योजना ल्याउन सकेको छैन ।
राष्ट्रपति पौडेलले पानीको स्रोत जोगाउनुपर्ने नयाँ चुनौती थपिएको उल्लेख गर्दै यो चुनौती सामना गर्न सार्क क्रियाशील हुन जरुरी रहेको धारणा राखे ।
उनले हिन्दकुश हिमालय पर्वत क्षेत्रमा १.९ अर्बभन्दा बढी जनता बसोबास गर्ने भएकाले तीनको जनजीवन सहज तुल्याउन सार्क मुलुकहरुले साझा चुनौतीको रुपमा रहेको जलवायु परिवर्तनको नकारात्मक असर न्यूनीकरणका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
पोखरेलले भने, ‘नेपाल सार्क बडापत्रमा अन्तरनिहित सिद्धान्त एवम् लक्ष्यप्रति सदैव प्रतिबद्ध रहँदै आएको तथा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति एवम् सांस्कृतिक विकासलाई तीव्रता दिन सार्क प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गर्नुभएको थियो ।’
उक्त भेटमा पौडेलले लामो समयदेखि अवरुद्ध सार्क शिखर सम्मेलन आयोजना गर्न छिट्टै सहमति जुटने अपेक्षा राखे ।
सार्क महासचिव सरवारले जलवायु परिवर्तनको नयाँ चुनौती सामना गर्न सार्क सदस्यहरुबीच एक आपसमा सहयोग आदानप्रदानका लागि सचिवालय क्रियाशील रहने उल्लेख गरेका थिए ।