आगोले जलेका राउटे युवकको उपचार हुँदै
-
मंसिर १४,२०७४ दैलेख ।
आगोले पोलिएका राउटे युवक कपिल शाहीको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
आगोले पोलेएपछि गम्भीर बिरामी शाहीलाई उपचारका लागि काठमाडौँं ल्याइएको थियो । सत्यदेवी अधिकारीको पहलमा काठमाडौँंमा उपचार गराएर निको भएको उनको घाउ पुनः बल्झिएको छ । घाउ बल्झिएपछि अहिले दैलेख अस्पतालमा उनको उपचार भइरहेको छ ।
विसं २०७२ मा अछामको भैरवस्थानमा बसोबास गर्दा सुतेको अवस्थामा उनको शरीर पोलिएको थियो । कपिलको कीरा परेको घाउको उपचार गराउनका लागि राउटेसँग काम गर्दै आएकी अधिकारीले राउटे मुखियालाई निकै फकाएपछि कपिलसँगै अन्य दुई राउटेलाई काठमाडाँैं ल्याएर उपचारका गराएकी थिइन् ।
परम्परागत औषधोपचारलाई मुख्य ठान्दै आएका राउटे युवाले पछिल्ला दिनमा बिरामी पर्दा उपचार गराउन थालेपछि परिवर्तनको संकेत देखिन थालेको छ ।
औषधि खान नमान्ने समुदायले आजभोलि बिरामी पर्दा उपचार गर्न र औषधि खान शुरु गरेका छन । चिसोका कारण समस्यामा परेको राउटे समुदाय अहिले भैरवी गाउँपालिका– ५ सैनचौरमा बसोबास गर्दै आएका छन ।
गुन्योको पातलो छानामा जीवन गुजारा गर्दैआएको राउटे समुदाय आफूहरु चिसोका कारण समस्यामा पर्दैै आएको बताउँने गरेका छन । सरकारले दिएको भत्ताले गुजारा गर्दै आएको समुदायले निर्माण गरेका कोशी, मधुस आदि बिक्रीवितरण हुन छाडेपछि समस्या थपिँदै गएको बताइएको छ । रासस