प्रहरी नियन्त्रणमा रहेका बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो
-आस्था न्युज
पुस २६, २०८० काठमाडौं ।
अनुयायी बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई बुधबार राति नै सर्लाही लगेको थियो ।
अदालत खुल्ने वित्तिकै उनलाई हाजिर गराइएको प्रहरीले जनाएको छ । अदालतमा उनविरुद्ध थुनछेक बहस हुनेछ ।
ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।
ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक ३० भदौ २०७५ मा रौतहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् ।
पीडित युवती बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा आनीका रुपमा बसेकी थिइन् । त्यहीँ २० साउन २०७३ मा आफूलाई बम्जनले बलात्कारको प्रयास गरेको उनले बताएकी थिइन् ।
बम्जनको स्वभावका कारण आश्रममा बस्न ठीक नलागेपछि २०७५ असारतिर आश्रम छाडेर निस्किएको उनले बताएकी थिइन् ।