अलैँचीको मूल्य उत्साजनक वृद्धि, प्रतिमन ८० हजार

पौष २६,२०८०

-आस्था न्युज

पुस २६, २०८० काठमाडौं ।
कोशीका पहाडी जिल्लाको मुख्य नगदेबालीमा पर्ने अलैँचीको मूल्य उत्साहजनक रुपमा बढेको छ ।
 
अलैँची प्रतिमन यतिबेला ८० हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।
 
झण्डै दशकअघि प्रतिमन अलैँची एक लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो । तर बिस्तारै घट्दै आएर प्रतिमन २० हजार रुपैयाँसम्म पुगेको थियो ।
 
यो वर्ष भने फेरि अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसान र व्यवसायीहरु उत्साहित बनेका छन् ।
 
अलैँची व्यवसायी महासंघ नेपालका अध्यक्ष निर्मल भट्टराईका अनुसार हाल अलैँची प्रतिमन ७८ देखि ८० हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।
 
ताप्लेजुङ, इलाम, पाँचथरलगायत पहाडी क्षेत्रमा उत्पादित अलैँचीलाई ग्रेडिङ गरेर मूल्य कायम गरिन्छ । ग्रेडिङपछि गुणस्तरका आधारमा त्यसको मूल्य केही कम बेसी हुने गरेको व्यवसायी बताउँछन् ।
 
गत वर्ष अलैँचीको कारोबार प्रतिमन २५ हजार रुपैयाँबाट सुरु भएर ५९ हजार रुपैयाँ प्रतिमन बिक्री भएको थियो ।
 
उत्पादित अलैँची झापाको बिर्तामोडमा संकलन गरी आवश्यक प्रक्रिया पुर्याएर भारततर्फ निकासी गरिन्छ । अधिकांश अलैँची भारत निर्यात हुने गरेको छ भने पाकिस्तान र खाडी मुलुकहरुमा पनि नेपाली अलैँची जाने गरेको छ । केही परिमाण अलैँची इटाली, जर्मनी र अमेरिकामा पनि निर्यात हुने गरेको छ ।
 
चालु आर्थिक वर्षको मंसिरसम्म झापाको मेची भन्सारबाट तीन अर्ब रुपैयाँभन्दा बढीको अलैँची निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।
 
आर्थिक वर्ष ०८०–८१ को मंसिर मसान्तसम्म २३ लाख ७४ हजार ११० किलो अलैँची निर्यात भएको तथ्यांक छ । उक्त परिमाणको अलैँचीबा तीन अर्ब नौ करोड ८६ लाख १४ हजार रुपैयाँ नेपाल भित्रिएको जनाइएको छ ।
 
ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम लगायत जिल्लामा अलैँची खेती प्रशस्त हुने गरेको छ ।
 
आर्थिक वर्ष २०७८–७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँको अलैँची निर्यात भएको थियो ।
 
पूर्वी पहाडी जिल्ला र अरु जिल्लामा समेत गरी देशभर करिब १६ हजार हेक्टर जग्गामा अलैँची खेती हुने गरेको छ । उक्त क्षेत्रफलबाट करिब ८ हजार ३ सय टन अलैँची उत्पादन हुन्छ ।